ब्राजिल, २ पुस २०७३। गत नोभेम्बर महिनामा कोलम्बियामा भएको विमान दुर्घटनाका बेला उद्धारकार्यमा सहयोग गरेकालाई ब्राजिलमा भव्य सम्मान गरिएको छ ।
ब्राजिल सरकारद्वारा शुक्रबार आयोजित सम्मान समारोहमा कोलम्बियाका ११ जनालाई सम्मान गरिएको हो ।
कोलम्बियाको दुर्घटनास्थल नजिकैका उनीहरुलाई दुर्घटनापछि उद्धार कार्यमा गरेको सहयोगको प्रशंसा गर्दै ब्राजिलका विदेश मन्त्री जोसे सेर्राले सम्मान गर्नुभएको थियो ।
एलएमआई २९३३ चार्टर उडानमा कोलम्बियामा भएको साउथ अमेरिकन कपको अन्तिम खेलका लागि गएको ब्राजिलको फुटबल टोलीका खेलाडीहरू रहेका थिए । विमानमा चाकलदलका सदस्यसहित ७७ व्यक्तिको सवार थिए । तीमध्ये ७१ जनाको मृत्यु भएको थियो ।
गत २८ नोभेम्बरमा भएको दुर्घटनामा मृत्यु हुनेमध्ये कम्तीमा २० जना पत्रकार र अरु अधिकांश खेलाडी रहेका थिए ।
खेलको इतिहासमा नै यो भीषण घटनारूपमा लिइएको छ । यसअघि भएका विमान दुर्घटनामा यति घेरै खेलाडी मारिएको घटना नभएको बताइएको छ ।
घटनास्थलबाट अरू छ जनालाई भने जीवितै उद्धार गरिएको थियो । उद्धार गरिएका मध्ये चार जना ब्राजिलका थिए । ती चार जनामध्ये तीन जना खेलाडी र एक जना पत्रकार थिए । उनीहरु सबै उपचार पछि घर फर्किएका छन् ।
सो घटनापछि उद्धारमा सहयोग गर्नेलाई प्रशंसा गर्न आफुसँग कुनै शब्द नभएको ब्राजिलका राष्ट्रपति मिचेल टेमेरले बताउनुभएको छ ।


