काठमाडौँ, २९ मङ्सिर २०७३ । सरकारले लघु, घरेलु तथा साना उद्योग पुनःसञ्चालन गर्न सहयोग र सहजीकरण गर्ने निर्णय गरेपछि नेपाल घरेलु तथा साना उद्योग महासङ्घले त्यसको स्वागत गरेको छ ।
महासङ्घका अध्यक्ष श्यामप्रसाद गिरीले नेपाल सरकार उद्योग मन्त्रालयले लघु, घरेलु तथा साना उद्योगको पुनःसञ्चालन गर्ने निर्णयले मुलुकभरका उद्यमी हर्षित भएको बताउनुभयो ।
अध्यक्ष गिरीले आज एक विज्ञप्ति जारी गर्दै लामो समयदेखि विभिन्न कारणले बन्द रहेका र गत वर्षको भूकम्प, नाकाबन्दी तथा चर्को विद्युत्भार कटौतीका कारणले लघु, घरेलु तथा साना उद्योग बन्द रहेकाले पुनःसञ्चालन गर्ने सरकारको निर्णय सकारात्मक भएको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “हाल लघु, घरेलु तथा साना उद्योगको सङ्ख्या झन्डै तीन लाख छ । यसमध्ये झन्डै एक लाख उद्योग बन्द छन् । बन्द हुनुको कारण मूल्याङ्कन गरी पुनःसञ्चालनमा ल्याउने निर्णयले निजी क्षेत्रलाई उत्साहित बनाएको छ ।”
बन्द भएका उद्योग सञ्चालनका लागि आवश्यक कारणसहित २१ दिनभित्र प्रस्ताव पेस गर्न उद्योग मन्त्रालयले सूचना निकालेपछि तोकिएको मितिभित्र उद्योग बन्द हुनाको कारण र सरकारले सहयोग गर्नुपर्ने क्षेत्रका बारेमा स्पष्ट उल्लेख गरी प्रस्ताव पेस गर्न महासङ्घले आग्रह पनि गरेको छ ।


