
काठमाडौँ, १८ चैत २०७५ । स्रष्टा महेश पौड्यालको कवितासङ्ग्रह ‘शून्य प्रहरको साक्षी¬’ सार्वजनिक भएको छ । भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा जारी पुस्तक प्रदर्शनीस्थलमा आयोजित कार्यक्रममा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष एवं वरिष्ठ साहित्यकार श्यामल अधिकारीले सो पुस्तकको लोकार्पण गर्नुभएको हो ।
अध्यक्ष श्यामलले कविताको भूमि उर्वर र रहस्यमयी भएको उल्लेख गर्दै पौड्यालका कवितामा चित्रमय प्रस्तुति र दार्शनिक चेत पाइएको बताउनुभयो । उहाँले कविताले समाजलाई सही सौन्दर्यचेत दिन सक्नुपर्ने तथा नेपाली कवितामा नेपाली प्राण र जीवन हुनुपर्नेमा जोड दिँदै भन्नुभयो, “नेपाली लिपिमा लेखिँदैमा नेपाली कविता हुँदैन, सही संवेदना, दृष्टिकोण र शैली नभएका कविता बन्दैनन्, कविले राम्रो कविताका लागि सधैँ अग्रसर रहिरहनुपर्छ ।”
साहित्यकार एलबी क्षेत्रीले कविताको अर्थ र बुझाइ मानिसको दृष्टिकोणमा भर पर्ने जनाउँदै ‘शून्य प्रहरको साक्षी¬’ले नयाँपन दिएको बताउनुभयो । कवि डा नवराज लम्सालले पौड्यालका कविताहरु नाराजस्तो नभई समय र संवेदनालाई छुन सक्ने प्रकारको भएको बताउँदै लेखकले लेख्नका लागि लेख्ने नभई लेखकीय र मानवीय दायित्व एवं जिम्मेवारीसमेत बोध गरेर लेख्नुपर्नेमा जोड दिनुभयो ।
समीक्षक मोमिलाले पौड्यालका कविताहरु वेदका ऋचाजस्तो सुललित र गम्भीर प्रकारका भएको टिप्पणी गर्नुभयो । कवि पौड्यालले आफूले सिधा भन्ने स्वभाव भएकाले कवितामा बिम्ब र प्रतीकलाई कुन हदसम्म खेलाउन सकियो भन्नेमा स्पष्ट नभएको अवस्थामा पुस्तकले पाठकसमक्ष विमर्श प्रस्तुत गरेको जनाउनुभयो । समालोचना र अनुवाद विधामा समेत कलम चलाउने पौड्यालका १०८ कविता सो पुस्तकमा समावेश छन् । पुस्तक शिखा बुक्सबाट प्रकाशित भएको हो ।
रासस