नक्कली नोट छाप्ने दुई पक्राउ

कास्की, ९ फागुन २०७५ । जिल्ला प्रहरी कार्यालय कास्कीले नक्कली नोट छाप्ने दुई जनालाई पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरको टोलीले हेटौँडा नगरपालिका– ९ का ३३ वर्षीय प्रेमबहादुर तामाङ र सोही नगरपालिका– १ की २५ वर्षीया सरस्वती बलामीलाई सोमबार पक्राउ गरेको हो ।

उनीहरुलाई पोखरा महानगरपालिका वडा नं ५ पस्र्याङस्थित डेराबाट नक्कली नोट छाप्दाछाप्दै पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्रमान गुरुङ जानकारी दिनुभयो ।

पोखरा– १६ अर्मलास्थित गुरुङ किराना पसलमा एक हजारको नोट दिएर रु १०० को एनसेलको रिचार्ज कार्ड खरीद गरेका र पछि नक्कली नोट भएको थाहा पाएपछि प्रहरीलाई दिएको सूचनाका आधारमा उनीहरुलाई तत्काल पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

ग १४ प २५४ नंको मोटरसाइकल प्रयोग गरेर विशेष गरी महिला तथा बालबालिका भएको पसलमा नक्कली नोट दिने गरेको बताउँदै उहाँले उनीहरुले पोखराको विभिन्न २०० स्थानमा नोट साँटेको जानकारी दिनुभयो ।

प्रहरीका अनुसार उनीहरुको कोठाबाट ल्यापटप र कलर प्रिन्टर एक÷एक थानसहित एक हजार दरका १९ थान नक्कली नोट र रु एक लाख २८ हजार ४३० नेपाली रुपैयाँ र एक हजार भारतीय रुपैयाँलगायत अन्य सामग्री फेला परेको छ ।

 

  • 73Read This News:
  • 459202Total reads:
  • 268733Total visitors: