अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा दलीय मतभिन्नता त्याग्न आग्रह

वासिङ्टन, २४ माघ २०७५ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै अमेरिकी राजनीतिको केन्द्र वासिङ्टनले आपसी “प्रतिशोध, प्रतिरोध र प्रतिकार” त्याग्न आग्रह गर्नुभएको छ ।
स्थानीय समयअनुसार मङ्गलबार राति “स्टेट अफ दी युनियन” नाम दिइएको उक्त सम्बोधनमा आफूविरुद्ध भइरहेको “मुर्खतापूर्ण पक्षपातयुक्त अनुसन्धान” अन्त्य गर्न आग्रह गर्नुभयो ।

सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले दलीय सहमतिका लागि आग्रह गरेपनि कठोर आप्रवासन नीतिको बचाव गर्नुभएको थियो । ट्रम्पका आप्रवासन नीतिले विपक्षी डेमोक्र्याट पार्टीलाई क्रुद्ध बनाउनुका साथै राष्ट्रपति ट्रम्पले आप्रवासी नियन्त्रणका नाममा मेक्सिको सीमामा पर्खाल निर्माण गर्न माग गर्नुभएको करिब ६ अर्ब डलरको बजेट डेमोक्र्याट्सको बहुमत रहेको कङ्ग्रेसले अस्वीकृत गरेको छ ।

सम्बोधनका क्रममा पनि राष्ट्रपति ट्रम्पले अवैध आप्रवासन अमेरिकाको सुरक्षा र आर्थिक सुव्यवस्थाका लागि चुनौती रहेको समेत बताउनुभयो ।

उहाँले डेमोक्र्याट पार्टीसँगको सम्बन्ध सुधारका लागि कुनै नयाँ योजना अघि सार्नु भएन । बरु, सम्बोधनका क्रममा राष्ट्रपतिका कतिपय योजनाप्रति डेमोक्र्याट सांसदहरुले बेवास्ता गरेका थिए ।

राष्ट्रपति ट्रम्पले आगामी फेब्रुअरी १५ भित्र मेक्सिको सीमामा पर्खाल निर्माणका लागि कङ्ग्रेसले बजेट पारित गर्न अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, समय नजिकिँदै छ, फेरि पनि बजेट अभावमा सङ्घीय कार्यालयहरु बन्द हुन सक्नेप्रति डेमोक्र्याट्सहरुले ध्यान दिनु आवश्यक छ । तर डेमोक्र्याट पार्टी राष्ट्रपति ट्रम्पको प्रस्तावमा अझै सहमत भएको छैन ।

मेक्सिको पर्खालको महत्वका बारेमा लामो व्याख्यान दिनुभएका राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यो पर्खाल त बनाएरै छाड्छु ।”

यसैगरी राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिका बारेमा पनि लामै चर्चा गर्नुभएको थियो । उहाँले भियतनाममा उत्तर कोरियाली नेता कीम जोङ–अनसँग फेब्रुअरी २७–२८ मा दोस्रो भेटवार्ता गरिने घोषणा गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “यदि म अमेरिकाको राष्ट्रपतिमा निर्वाचित नभएको भए मेरो विचारमा अहिले उत्तर कोरियासँग ठूलै युद्ध भइरहेको हुन्थ्यो ।”

डेमोक्र्याट नेतृ स्टासी अब्राम्सले राष्ट्रपतिको सम्बोधनका विषयमा पार्टीका तर्फबाट प्रतिक्रिया दिनुभएको थियो । एटलान्टाबाट बोल्दै अब्राम्सले राष्ट्रपति ट्रम्पले सङ्घीय कार्यालयहरु आंशिक बन्द भएको घटनालाई राजनीतिक प्रचार–साधन (स्टन्ट) बनाएको आरोप लगाउनुभयो ।

 

  • 31Read This News:
  • 459261Total reads:
  • 268785Total visitors: