प्रथम आँबुखैरेनी महोत्सव शुरु

तनहुँ, १८ माघ २०७५ । नेपाल आदिवासी जनजाति महासङ्घ आँबुखैरेनी गाउँ समन्वय परिषद्को आयोजनामा विहिवारदेखि प्रथम आँबुखैरेनी महोत्सव शुरु भएको छ ।

अमूल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासीको अभियान’ नाराका साथ शुरु भएको महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले संस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । आदिवासी जनजाति संस्कृतिको धनी रहेको चर्चा गर्दै मन्त्री चुमानले कला र संस्कृतिलाई आयआर्जनको माध्यम बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “महोत्सवमा मनोरञ्जन सहायक पाटो हो । पहिलो पाटो भनेको त संस्कृति संरक्षण नै हो”, उहाँले मेला महोत्सवलाई आयआर्जनको बाटो बनाउन नहुनेमा समेत आग्रह गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य सरिता गुरुङ, आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष बसुन्धरा घर्तीलगायतले महोत्सवमा उद्देश्य सफल हुनुपर्नेमा जोड दिनुभयो ।

महोत्सव मूल समारोह समितिका संयोजक रेशम भुजेलले आदिवासी जनजाति समुदायको सङ्ग्रहालय भवन निर्माणको लागि आर्थिक सङ्कलन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको बताउनुभयो । आगामी माघ २७ गतेसम्म सञ्चालन हुने महोत्सवमा १४६ कक्ष रहेको छ ।

 

  • 59Read This News:
  • 459202Total reads:
  • 268733Total visitors: