बैंक तथा वित्तीय संस्थालाई आफूले स्वीकृत गरेको सम्पूर्ण ऋण तथा सुविधाका बारेमा विवरण पठाउन निर्देशन

काठमाडौँ, ३० पुस २०७५ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आफूले स्वीकृत गरेको सम्पूर्ण ऋण तथा सुविधाका बारेमा विवरण पठाउन निर्देशन दिएको छ ।

बैंकले आज एक सूचनामार्फत ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई ९० दिनभन्दा बढीले भाखा नाघेका सम्पूर्ण कर्जाका बारेमा समेत जानकारी दिन आग्रह गरेको छ ।

प्रत्येक आर्थिक वर्षको त्रैमास समाप्त भएको मितिले १५ दिनभित्र कर्जा चुक्ता नभएसम्म केन्द्रमा पठाउनुपर्नेछ । केन्द्रमा पठाएको विवरणमा पछि कुनै परिवर्तन भएमा वा कर्जा चुक्ता भएमा, भाखा नाघेको कर्जा नियमित भएमा वा मिति थप तथा पुनःतालिकीकरण भएमा सो को जानकारीसमेत १५ दिनभित्र अनिवार्यरूपमा उपलब्ध गराउन बैंकले निर्देशन दिएको कार्यकारी निर्देशक नारायण पौडेलले जानकारी दिनुभयो ।

केन्द्रीय बैंकले ग्राहकको विवरण लिनलाई पनि कडाइ गरेको छ । इजाजत प्राप्त संस्थाका व्यक्ति, फर्म वा सङ्गठित संस्थाबाट कर्जा सुविधाका लागि आवेदन परेमा कर्जा विश्लेषणका लागि ग्राहक तथा ऋणीको नागरिकताको प्रतिलिपि, स्थायी तथा अस्थायी ठेगाना, तीनपुस्ते विवरण र एकाघर परिवारका सदस्यको विवरण लिन निर्देशन दिएको हो ।

निजी संस्था, साझेदारी फर्म, साझेदारको विवरण र फर्मको तर्फबाट कारोवार गर्न अख्तियार प्राप्त व्यक्तिको सम्पूर्ण विवरण, ठेगाना, स्म्झौताको प्रतिलिपि लिनुपर्नेछ । निजी संस्थाको हकमा १५ प्रतिशत वा सोभन्दा बढी शेयर स्वामित्व भएका शेयरधनी, धितो मूल्याङ्कनकर्ताको विवरण र रु १० लाखभन्दा माथिको हकमा इजाजतपत्रसमेत लिनुपर्ने नियम बनाइएको छ ।

यस्तै कर्जा प्रवाह गर्न, पुरानो कर्जा नवीरकण गर्न, पुनःसंरचना वा पुनःतालिकीकरण गर्नु अगावै ऋणी वा ग्राहकका बारेमा अनिवार्य सूचना लिन र माग भएको अवस्थामा तीन दिनभित्र केन्द्रीय बैंकलाई उपलब्ध गराउन भनिएको छ ।

यस्तै बैंकले कर्जा सूचना नियमावली, २०५९ अनुसार पनि थप बाँकी रहेका अन्य सूचना लिन पाउने व्यवस्था गरिएको छ ।

 

  • 97Read This News:
  • 480337Total reads:
  • 287818Total visitors: