मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण हुने

काठमाडौँ, ४ मङ्सिर २०७५ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा पहिलो पटक मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ ।

मानसिक रोगका प्रख्यात प्रा डा डेभिड भिम्सेन्टले सो रोगका अवस्था पत्ता लगाउन विकसित गर्नुभएको सर्वेक्षण विधिद्वारा नेपालका सातवटै प्रदेशका ७७ जिल्लाका करीब ९५ हजार जनतासमक्ष प्रत्यक्ष रुपमा अन्तर्वाता गरी सर्वेक्षण गरिने परिषद्ले जनाएको छ । परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सर्वेक्षणले नेपालमा मानसिक रोगको अवस्थाका बारेमा यथार्थ जानकारी आउने जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक सन् १९९७ मा पहिलो पटक मानसिक रोगसम्बन्धी नीति तयार गरेको थियो ।

तर नीति कार्यान्वयन नहुँदा एवं विनाशकारी भूकम्पका असर, विपद्का घटना वृद्धि एवं तनाव आदिका कारण मानसिक रोगीको संख्या वृद्धि भैराखेको बताइन्छ । पहिलो चरणमा प्रदेश १ र २ बाट सर्वेक्षण शुरु गरिनेछ । नसर्ने रोग मुटु, मिर्गौला, क्यान्सरभन्दा मानसिक रोगको सङ्ख्या बढिरहेको बताइन्छ । यसैबीच, सर्वेक्षणमा खटिजाने स्वास्थ्यकर्मीका लागि सोमवार देखि एक हप्ताको तालीम काठमाण्डौमा शुरु भएकोछ । तालीममा मानसिक रोग विज्ञ डा भिम्सेन्टले सहजीकरण गर्नुहुनेछ ।

सो अवसरमा अध्यक्ष प्रा डा झाले मानसिक रोगले ल्याउने सामाजिक समस्या पनि डरलाग्दो हुँदै गएको चर्चा गर्दै सर्वेक्षणले नीति निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मानसिक रोग विज्ञ डा भिम्सेन्ट पछिल्लो समयमा विश्वमा मानसिक रोगीको सङ्ख्या विभिन्न कारणले वृद्धि भैराखेको चर्चा गर्दै यसलाई समयमै सम्बोधन गर्नुपर्छ भन्नुभयो ।

मानसिक रोग विशेषज्ञ प्रा डा सरोज ओझा तथा विश्व स्वास्थ्य सङ्गठनका मानसिक रोग विज्ञ डा केदार मरहठ्ठाले मानसिक रोगीका अवस्थाको जानकारी लिन सर्वेक्षण महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

हाल नेपालमा मानसिक रोगका विशेषज्ञ चिकित्सकको सङ्ख्या १४६ भन्दा बढी छैन । मानसिक रोगको अवस्थाबारे परिषद्ले दोलखा, भक्तपुर र धनुषाका एक हजार ६४७ मा हालै सम्पन्न गरेको नमूना सर्वेक्षणमा १ हजार ३१५ जनामा कुनै न कुनै मानसिक रोग भएको पाइएको थियो । नमूना सर्वेक्षण प्रस्तुत गर्दै परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत सुष्मा दाहालले तनाव, भूकम्पलगायत विभिन्न विपद्ले पारेका असर लगायतका कारणले मानसिक रोगीको सङ्ख्या बढेको जानकारी दिनुभयो ।

 

  • 36Read This News:
  • 407408Total reads:
  • 220706Total visitors: