‘ए’ डिभिजन लिगमा आज नेपाल पुलिस र मच्छिन्द्र अनि ब्रिगेड व्वाइज र थ्रिस्टार विच खेल हुने

काठमाडौँ, २ मङ्सिर २०७५ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा विभागीय टोली नेपाल पुलिसले मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान ११ः३० बजे शुरु हुनेछ ।

यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो भने मच्छिन्द्रले च्यासल युथ क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

खेल हुनुअघि आज बिहान आयोजित ‘प्रि म्याच कन्फ्रेन्स’मा पुलिसका प्रशिक्षक अनन्तराज थापाले मच्छिन्द्र क्लबलाई सामान्यरूपमा नलिने बताउनुभयो । “हामीले भखरै नवलपरासीमा राइनो कप खेलेर आएका छौँ, उक्त प्रतियोगितामा आफ्नो कमी कमजोरी थाहा भयो, त्यसलाई सुधार गर्दै अघि बढ्छौँ ।”

मछिच्न्द्र क्लबका प्रशिक्षक धनेश्वर प्रजापतिले दशैँ तिहारपछि मात्रै अभ्यास शुरु गरेकाले सोचेअनुसारको तयारी हुन नपाएको बताउनुभयो ।

त्यसैगरी आजै हुने दोस्रो खेलमा ब्रिगेडब्वाइज क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ । दुवै क्लब ललिपुरका हुन् । पहिलो खेलमा थ्रीस्टारले फ्रेण्ड्सलाई २–१ ले पराजित गरेको थियो भने ब्रिगेटब्वाइजले मनाङसँग पराजय व्यहोरेको थियो ।

थ्रीस्टारका लागि आज निकै खुशीको कुरा छ । क्लबका मिडफिल्डर विक्रम लामा आजको खेलबाट मैदान फर्कंदैछन् । चोटका कारण करीब ८ महीना मैदान बाहिर रहेका विक्रम सफल उपचार प्रक्रिया पूरा गरेर मैदान फर्कन लागेका हुन् ।

लिग चरणको दोस्रो खेलमा राष्ट्रिय टिमका खेलाडीले भरिएको थ्रीस्टारलाई उमेर समूहका खेलाडी आबद्व ब्रिगेटले चुनौती दिने ब्रिगेडब्वाइज क्लबका प्रशिक्षक उज्वल श्रेष्ठले जानकारी दिनुभयो ।

थ्रीस्टारमा राष्ट्रिय टोलीबाट पूर्वकप्तान अनिल गुरुङसँगै एलेन न्यौपाने, अनन्त तामाङ, निराजन खड्का र सुनिल बललगायतका खेलाडी समावेश छन् । थ्रीस्टारका सहायक प्रशिक्षक अशोक राईले तिहारलगत्तै तयारीमा जुटेकाले राम्रो प्रदर्शन गर्ने बताउनुभयो । ‘ए’ डिभिजन लिग चार वर्षपछि हुनलागेको हो । पछिल्लो पटक विसं २०७१ मा ‘ए’ डिभिजन लिग भएको थियो ।

 

  • 46Read This News:
  • 458580Total reads:
  • 268149Total visitors: