नेताले अन्माए वुहारीलाई छोरी सरह

बाँके, २ मङ्सिर २०७५ । सङ्घीय सांसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति तथा संविधानसभाका पूर्वउपसभामुख पूर्णाकुमारी सुवेदी र नेकपाका नेता प्रकाश सुवेदीले जेठी बुहारी मालती शर्मालाई छोरीको रूपमा विवाह गरी अन्माएर पठाउनुभएको छ ।

बुहारीले नै रोजेको बरका साथ विवाह गरी समाजलाई चुनौती दिँदै एकल बुहारीको इच्छाअनुसार विवाह गरी अन्माउनुभएको हो । विसं २०७२ को महाभूकम्पमा परी उहाँका जेठा छोरा अच्युतराज सुवेदीको मृत्यु भएपछि एकल जीवनयापन गर्दै आएकीकी बुहारी शर्माको शनिबार आफ्नै घरबाट नेपालगञ्जका सुधीर गौतमसँग विवाह गरी अन्माएर पठाउनुभएको हो ।

“मालतीको इच्छा र उनले नै खोजेको नयाँ जीवनसाथीसँग घरबाटै टिकोटालो गरी मलाई नयाँ जीवनको शुरुआत गर्न आर्शीवाद दिनुहोस् भनेपछि हामी पनि उनको खुशीमा सहभागी भएका हौँ”, पूर्वउपसभामुख सुवेदी भन्नुभयो ।

उहाँले छोराको अवसानपछि दुई नाति र बुहारी मालतीको भविष्यप्रति आफूहरु चिन्तित रहेकै बेलामा मालती आफैँले छानेको बरका साथ उनलाई खुशी देख्नको लागि विवाह गरिदिएको बताउनुभयो । मालतीका यसअघि दुई छोरा छन् ।
समाजले एकल महिला त्यसमा पनि बुहारीलाई छोरी बनाई घरबाटै अन्माइ पठाउनु सुवेदी दम्पतीका लागि केही असहज भए पनि समाजलाई साँच्चिकै परिवर्तन गर्नका लागि उदाहरण भएको नेकपाकी नेतृ तथा प्रदेश नं ५ प्रदेशसभा सदस्य कृष्णा केसीले बताउनुभयो ।

उहाँले बाँकेमा पूर्णा र प्रकाशलाई राजनीतिककर्मीमात्र नभई यस कार्यले सामाजिक अभियन्ताको रुपमा समेत चित्रण गर्न सफल भएको दाबी गर्दै भन्नुभयो, “बडो ठूलो हृदयका साथ बुहारीलाई छोरी बनाई आफ्नै घरबाट अन्माउने दुवैबाट पार्टी कार्यकर्ता तथा सबै सामाजिक अभियन्ताले पाठ सिक्न आवश्यक छ ।”

 

  • 22Read This News:
  • 407817Total reads:
  • 221084Total visitors: