बाँकेमा शीतलहर र हुस्सुका कारण उडान अवरुद्ध

बाँके, २९ कात्तिक २०७५ । बाँकेमा आज बिहानैदेखि शुरु भएको शीतलहर र हुस्सुका कारण बिहानीपख हुने हवाई उडान हुनसकेको छैन ।

हुस्सुका कारण नेपालगञ्जबाट बिहानपख हुने सम्पूर्ण हवाई उडान हुनसकेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख रबिना पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार साना र ठूला हवाई जहाजका लागि पर्याप्त भिजिविलिटी नभएका कारण उडान हुननसकेको हो । बाँकेमा आज बिहान ५० मिटर मात्र भिजिविलिटी रहेको पाण्डेले बताउनुभयोे । सानो जहाज उडानका लागि एक हजार ६०० देखि दुई हजारसम्म र ठूला जहाजका लागि दुई हजारभन्दा माथि भिजिविलिटी हुनुपर्ने हुन्छ ।

अहिले नेपालगञ्जको अधिकतम तापक्रम १६ रहेको छ भने न्यूनतम तापक्रम १३.५ रहेको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय राँझाका प्रमुख पाण्डेले जानकारी दिनुभयो । “मौसममा सुधार आए पनि अहिलेसम्म पुरै आकाश खुलेको छैन । यो क्रम केही दिनसम्म रहने सम्भावना छ”, उहाँले भन्नुभयो ।

नेपालगञ्ज विमानस्थल सुरक्षा इन्चार्ज प्रहरी नायब निरीक्षक दिनेश विष्टले बिहानपख हुने कर्णाली क्षेत्र र काठमाडौँका उडान हुननसकेको जानकारी दिनुभयो । नेपालगञ्ज विमानस्थलबाट बिहान कर्णालीका डोल्पा, हुम्ला मुगु र काठमाडौँका लागि उडान हुने गर्दछ । मौसममा सुधार आउनासाथ उडान गर्ने तयारी भएको विष्टले बताउनुभयो ।

 

  • 24Read This News:
  • 407905Total reads:
  • 221168Total visitors: