यात्रु ठगी गर्ने बस ट्राफिक कारवाहीमा

काठमाडौँ, २८ कात्तिक २०७५ । सुविधासम्पन्न पर्यटक बसको महङ्गो भाडा लिएर साधारण बसमा यात्रा गराउने पोखराको शुभ अधिकारी ट्राभल्सलाई कारवाही गर्न महानगरीय ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागमा सिफारिश गरेको छ ।

पोखराबाट काठमाडौँको यात्रामा २१८ नंको टुरिष्ट बसमा यात्रा गराउने भनी जनही रु ७०० भाडा लिएको शुभ अधिकारी ट्राभल्सले रु ५०० भाडा लिने गरेको ७२४९ नंको साधारण बसमा यात्रा गराई ठगेपछि यात्रुले प्रहरीमा उजुरी गरेपछि कारवाही गराइएको हो ।

चौतीस जना यात्रुलाई ठगेकाले ती दुईवटै बसलाई नियन्त्रणमा लिई महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा राखेर कारवाही गरिएको महाशाखा प्रमुख वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

गैरपर्यटक बसमा समेत टुरिष्ट लेखेर झुक्याउने गरेको गुनासो आइरहेको प्रहरी वरिष्ठ उपरीक्षक पन्तले बताउनुभयो । बढी भाडा लिने बसलाई यातायात व्यवस्था विभागले रु ३ देखि रु ५ हजारसम्म जरिवाना गर्नसक्ने व्यवस्था रहेको महाशाखा प्रमुख पन्तले उल्लेख गर्नुभयो ।

उहाँले ठगी गर्ने बसका बारेमा प्रहरी वा ट्राफिक प्रहरीलाई खबर गरेमा कारवाही हुने भएकाले उजुरी गर्न सर्वसाधारणलाई आह्वान गर्नुभएको छ । यसअघि यही कात्तिक ७ गते पनि शुभ अधिकारी ट्राभल्सले पर्यटक बस भनी जनही रु ७०० भाडा लिएकामा जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले १५ जना यात्रुको भाडा फिर्ता गराउनुका साथै रु १ हजार ५०० जरिवाना गरेको थियो ।

पर्यटक बसको नम्बर हरियो प्लेटमा र गैरपर्यटक बसको नम्बर कालो प्लेटमा रहे पनि हतारमा रहेका यात्रुलाई झुक्याउन टुरिष्ट जनाउने गरी लेख्ने गरेकाले सोसमेत हटाउन लागिएको ट्राफिक प्रहरीले जनाएको छ ।

पोखरा रुटमा सरकारले तोकेको हालको भाडा दर रु ४२८ रहेको छ भने डिलक्स सुविधा रहेको भनी प्रमाणित गरिएका बसले २० प्रतिशत मात्रै थपेर लिन पाउने गरी तोकिएको देशभरको भाडा दर यातायात व्यवस्था विभागको वेबसाइटमा राखिएको छ ।

 

  • 42Read This News:
  • 406592Total reads:
  • 219926Total visitors: