कोलम्बियामा शान्ति स्थापनाको आसा पलायो

कोलम्विया, २९ कात्तिक २०७३। कोलम्बियाका विद्रोही र सरकारबीच शनिबार नयाँ शान्ति सम्झौता भएपछि शान्ति स्थापनाका लागि नयाँ आसा पलाएको छ ।

सरकार र विद्रोही समूह, रिभोलुसनरी आम्र्ड फोर्स अफ कोलम्बिया (एफएआरसी) बीच शनिबार कोलम्बियामा शान्ति स्थापनाका लागि भन्दै अर्को पटक शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सरकार र सो समूहबीच गत महिना नै शान्ति सम्झौता भएको थियो । सो सम्झौताबमोजिम आजसम्म वार्ता र थप नयाँ सहमति हुन सकेको छैन ।

तर पछिल्लो पटक सरकारी प्रतिनिधि र विद्रोहीका तर्फबाट क्युबाको राजधानी हवानामा कैयौँ दिनको प्रयासपछि उक्त सम्झौता भएको हो ।

गत महिना सम्झौता भएकोमा त्यसको पालना हुन सकेको थिएन । उक्त सम्झौता विद्रोहीका पक्षमा भएको र उनीहरूलाई विगत दशकौँसम्मको हिंसाको उन्मुक्ति दिएको भन्दै विरोध भएको थियो ।

विरोधपछि सरकारले गरेको जनमतमा पनि उक्त सम्झौता अनुमोदन हुन सकेको थिएन । त्यसैकारण पनि अर्को शान्ति सम्झौता गर्नु परेको हो ।

यस सम्झौतापछि कोलम्बियामा बिगत करिब ५० वर्षदेखि जारी रहेको भनिएको हिंसाको अन्त्य हुने अपेक्षा गरिएको छ ।

यस हिंसामा परी हजारौँको ज्यान गएको छ । यस विद्रोहलाई संसारको लामो हिंसात्मक विद्रोहको रूपमा पनि लिने गरिन्छ ।

यो पछिल्लो सम्झौताको मध्यस्थता क्युबा र नर्वेले गरेका थिए । यी दुई देशको मध्यस्थतामा कोलम्बियाको सरकारी र विद्रोहीका प्रतिनिधिले हस्ताक्षर गरेका थिए ।

यस सम्झौतालाई अन्तिम सम्झौताको नाम दिइएकोले यसबाट कोलम्बियामा शान्ति स्थापना हुने अपेक्षा गरिएको छ ।

सरकारी र विद्रोहीका प्रतिनिधिले पनि यस सम्झौता कोलम्बियामा शान्तिको स्थापना र प्रजातान्त्रीकरणको लागि एक बलियो दस्तावेज भएको प्रतिक्रिया दिएका छन् ।

 

  • 40Read This News:
  • 459678Total reads:
  • 269182Total visitors: