वरिष्ठ कलाकार रिमालको ९२ वर्षको उमेरमा निधन

काठमाडौँ, १५ भाद्र २०७५ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९२ वर्षको उमेरमा आज बिहान उहाँकै निवासमा निधन भएको छ ।

रिमालको पार्थिव शरीरलाई अहिले अन्तिम श्रद्धाञ्जलीका लागि नयाँ बानेश्वरस्थित निवासमा राखिएको र आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने चलचित्र निर्देशक सम्राट सापकोटाले जानकारी दिनुभयो ।

नाटककार स्व बालकृष्ण समको मुकुन्द इन्दिरामा १४ वर्षको उमेरमा अभिनय शुरु गर्नुभएका रिमालले चलचित्र आमाबाट नेपाली चलचित्रमा अभियन यात्रा शुरु गर्नुभएको थियो ।

उहाँ विसं २००७ मा रेडियो नेपालबाट प्रसारण गरिएको ‘मेरो दिल टुक्रा टुक्रा… बोलको गीत गाएर प्रथम गायकको रूपमा स्थापित हुनुभयो । उहाँले गाउनुभएको ‘बिना बादल असिना झर्दैन’, ‘फगत एक नजरमा’ जस्ता दर्जनौँ सदाबहार चर्चित छन् ।

सरल अभिनयद्वारा नेपाली चलचित्रको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएवापत उहाँलाई विसं २०७१ सालमा सिजी कामना अवार्ड समारोहमा रु एक लाख राशिको कीर्तिमय दीर्घ सम्मान गरिएको थियो ।

विसं १९८२ असोज ३ गते शुक्रबार पिता घनश्याम रिमाल र माता मोहनकुमारी रिमालको सुपुत्रका रूपमा काठमाडौँको लगनटोलमा जन्मनुभएका रिमालको योगदान रेडियो नाटकदेखि नेपाली रङ्गमञ्च र चलचित्र क्षेत्रसम्म अविष्मरणीय रूपमा फैलिएको छ । उहाँका दुई छोरा, एक छोरी हुनुहुन्छ ।

 

  • 230Read This News:
  • 338440Total reads:
  • 165778Total visitors: