दलितको आरोपमा विद्यालयबाट निकालेको भन्दै कारबाहीको माग

खोटाङ, १८ साउन २०७५ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गर्नुभएको छ ।

दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गर्नुभएको हो ।

विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्यापक ललितकुमार बस्नेतले आफूलाई दलित भएकै कारण जबर्जस्ती जागिरबाट निकालेको उहाँले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । “रोशन सर र ललित सरले मैले पकाएको चिया र तातोपानीसमेत खानुहुन्नथ्यो ।” ज्ञापनपत्रमा भनिएको छ, “उहाँहरू दुवैलाई जातीय विभेदसम्बन्धी कारबाही गरिदिनुप¥यो ।”

ज्ञापनपत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख चाम्लिङले दुवै पक्षलाई राखेर समस्या समाधान गर्ने बताउनुभयो ।

“विश्वकर्मामाथि जातीय विभेद र जालसाजी दुवै भएको देखिन्छ ।” उहाँले भन्नुभयो, “घटना गम्भीर भएकाले थप अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारीमा छौं ।”

लामो समयदेखि सो विद्यालयमा कार्यालय सहयोगीको काम गर्दै आउनुभएकी विश्वकर्मालाई गत जेठ २७ गतेबाट हटाइएको ज्ञापनपत्रमा उल्लेख छ । विश्वकर्मालाई हटाएलगत्तै उहाँको ठाउँमा विद्यालयले अर्को व्यक्ति नियुक्त गरेको पाइएको छ ।

आफूलाई हटाएर अर्को व्यक्तिलाई राखेको थाहा पाएपछि विद्यालयमा बुझ्न जाँदा उल्टै हप्काएर पठाएको उहाँले बताउनुभयो । घटनाबारे प्रधानाध्यापक ढकाल र सहायक प्रधानाध्यापक बस्नेत दुबैसँग बुझ्न संपर्क हुन सकेन ।

 

  • 41Read This News:
  • 458919Total reads:
  • 268467Total visitors: