चार दिनदेखि परेको वर्षाका कारण जलेश्वर कारागार जलमग्न

महोत्तरी, १६ साउन २०७५ । विगत चार दिनदेखि परेको वर्षाका कारण महोत्तरी, धनुषा र सर्लाही जिल्लाका कैदीबन्दी राख्ने जलेश्वर कारागार जलमग्न बनेको छ ।

आइतबारदेखि नै पटकपटक परेको मुसलधारे पानीका कारण जलेश्वर कारागार जलमग्न बनेको जेलर शोभेन्द्र ठाकुरले बताउनुभयो ।

करीब १६० वर्ष पुरानो राणाकालीन जलेश्वर कारागार जलेश्वर नगरपालिकाको वडा नं २ मा सबैभन्दा गहिरो स्थानमा अवस्थित छ भने वर्षाका बेला यो कारागार जलमग्न बन्ने गरेको जेलर ठाकुरले बताउनुभयो ।

चार दिनदेखिको अविरल वर्षाका कारण कारागारको चारैतिर पानी नै पानी भएको छ भने कार्यालय प्रमुख बस्ने तथा कर्मचारी प्रशासन कक्षमा समेत पानी प्रवेश गरेको छ ।

वर्षाको पानीले कारागारको बाहिर मुलगेटभित्र कैदीबन्दी प्रवेश गर्ने मुलढोकासम्म पानी भरिएको चौकीदार श्रीनारायण महतोले बताउनुभयो । यसरी लगातारको वर्षाका कारण कारागार जलमग्न भएपछि कारागारको कामकाज प्रभावित भएको छ ।

 

  • 59Read This News:
  • 459278Total reads:
  • 268800Total visitors: