भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलको आग्रहमा प्रदेश २मा सवारी चालक अनलाइन फाराम कार्य रोक

सिराहा, १५ साउन २०७५ । प्रदेश नं २ मातहतका यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) का लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य स्थगित गरेको छ ।

यातायात व्यवस्था विभागले नयाँ चालक अनुमतिपत्र (लाइसेन्स) का लागि गत आइतबारदेखि अनलाइन फारामको आवेदन खुला गरेको थियो । विभागले अनलाइन फाराम खुला गरेकै दिन प्रदेश नं २ का भौतिक पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले तत्काल अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोक्न निर्देशन दिएपछि उक्त कार्य स्थगित गरिएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख मीन भट्टराईले बताउनुभयो ।

प्रदेश सरकारले मन्त्री सोनल र मन्त्रालयका सचिवले प्रदेशभित्रका यातायात व्यवस्था कार्यालय प्रदेश सरकारको मातहतमा रहने संवैधानिक व्यवस्था भएकाले प्रदेश सरकारसँग यससम्बन्धी ऐन कानून बनी नसकेकाले तत्कालका लागि अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोक्नुस् भन्नेर मौखिक निर्देशन दिएपछि सो कार्य स्थगित गरेका हौँ, निमित्त प्रमुख भट्टराईले भन्नुभयो– “हामीले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि सूचना जारी गरेरै उक्त कार्य रोकेका हौँ, थप कुनै निर्देशन आए सोहीअनुसार कार्य अगाडि बढाउन सकिन्छ छ ।”

प्रदेश नं २ मा सिरहाको लहानसहित जनकपुर र वीरगञ्जमा गरी तीन वटा यातायात व्यवस्था कार्यालय रहेको छ । यसैबीच प्रदेशमन्त्री र सचिवको निर्देशनपश्चात् अनलाइन फारामबाट लिइने बायोमेट्रिक कार्य रोकिएपछि नयाँ लाइसेन्सका परीक्षा दिने तयारीमा रहेको युवा अन्योलमा परेका छन् ।

प्रदेश सरकारसँग चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्ने कुनै ऐन, कानूनसमेत नरहेको अवस्थामा अचानक लाइसेन्स वितरणको कार्य रोकिएपछि अब के गर्ने भन्ने अन्योलतामा आफूहरु परेको अनलाइन फाराम भर्न आएका युवाले बताएका छन् ।

 

  • 59Read This News:
  • 458884Total reads:
  • 268436Total visitors: