टर्कीको दुई वर्षे संकटकालको अन्त्य

टर्की, ४ साउन २०७५ । टर्कीमा सन् २०१६ मा भएको असफल ‘कू’ पछि लगाइएको संकटकाल सरकारले हटाउन लागेको जनाएको छ ।

उक्त समयमा राष्ट्रपति रेसेप तैयप एर्दोगानको आदेशमा कुनै सुनुवाइ बिना असफल ‘कू’ गरेको आरोपमा दशौँ हजार मानिसहरू पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा सेना, प्रहरी, निजामती कर्मचारी, पत्रकार, शिक्षकलगायत विभिन्न पेशा र व्यवसायमा संलग्न नागरिकहरु रहेका थिए ।

हजारौँलाई जागीरहरू निलम्बन गरिएको थियो र त्यसमा कैयौँ न्यायाधीशहरू पनि परेका थिए ।

देशमा मानवअधिकारलाई नै कुण्ठित बनाएको संकटकाल हटाउँदैमा मात्रै त्यसले राजनीतिक उतारचढावलाई साम्य नहुने एमनेष्टि इन्टरनेशनलले टिप्पणी गरेको छ ।

यस महिनाको शुरुमा राष्ट्रपति एर्दोगानले पुनः पाँच वर्षे कार्यकालका लागि थप शक्तिसहित शपथ लिएका थिए ।

यद्यपि विपक्षी उम्मेदवारहरु आफूहरुले चुनाव जिते पहिलो काम देशबाट संकटकाल हटाउने बताउँदै आएको थियो ।

संकटकाल लागू भएयता टर्कीमा एक लाख सात हजारभन्दा बढी मानिसलाई सरकारी सेवाबाट हटाइएको थियो ।

सरकारी र गैरसरकारी संस्थाहरुका अनुसार ५० हजारभन्दा बढी मानिसलाई सुनुवाइ जारी रहँदा नै जेलमा हालिएको थियो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार टर्कीका राष्ट्रपति एर्दोगानलाई आफ्ना अमेरिकी क्रिश्चियन धर्मगुरु रिहा गर्नका लागि ट्वीटरमार्फत आग्रह गर्नुभएको छ ।

टर्कीले अमेरिकी सम्मानित क्रिश्चियन धर्मगुरु एन्ड्र्यु ब्रनसनलाई जेलबाट रिहा गरेको छैन । उहाँलाई आतङ्ककारीको आरोप लगाउँदै जेलमा राखिएको थियो ।

उहाँका परिवारजनले उहाँलाई कुरेर बसेको र उहाँलाई बिना कारण जेलमा राख्न नहुने ट्रम्पले बताउनुभएको छ ।

ब्रनसन कुनै गलत काम नगरेको परिवारलाई उहाँको आवश्यकता रहेको भन्दै तत्काल रिहा गर्न ट्रम्पले आग्रह गर्नुभएको हो । रिहा हुनका लागि ब्रनसनले तीन पटकसम्म अदालतलाई दिनुभएको अनुरोधपत्र अस्वीकार गरिएको छ ।

टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी संगठन (एफइटिओ) को संलग्नता रहेका आरोप लगाउँदै आएको छ ।

अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो ।

टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ आदेश दिएको थियो ।

सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा संलग्न रहेको बताइरहँदा गुलेन र उहाँ सम्बद्ध धार्मिक संगठनहरूले उक्त असफल ‘कू’ प्रयासमा आफूहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका थिए ।

गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् ।

टर्कीमा जारी जथाभावी पक्राउ र ‘कू’को प्रयासको आरोपमा जागीरबाट बर्खास्त गर्ने सरकारी कारवाहीपछि तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामालगायत विश्वका शक्तिशाली राष्ट्रहरुले टर्कीका सबै पक्षलाई विधिको शासनको पालना गर्न आग्रहसमेत गरिएको थियो ।

प्रजातन्त्रको मूल्य मान्यतालाई टर्कीले पनि पालना गर्नुपर्ने शक्तिशाली राष्ट्रहरुको भनाइ थियो ।

 

  • 26Read This News:
  • 480501Total reads:
  • 287971Total visitors: