इराक, १७ जेठ २०७५ । इराकको स्वतन्त्र उच्च निर्वाचन आयोगले १ हजार २१ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको छ ।
आयोगले यही मे १२ तारिखका दिन भएको संसदीय निर्वाचनका क्रममा ती ठाँउहरुमा अनियमितता भएको उजुरीका आधारमा छानबिन गर्दा कमजोरी देखिएकाले निर्वाचन रद्द गरिएको बुधबार जनाएको छ ।
आयोगद्वारा जारी विज्ञप्तिमा अनियमितता भएको भनिएका देशभरका झण्डै २ हजार वटा मतदान केन्द्रमा छानबिन भएको जनाइएको छ ।
उजुरीकै आधारमा छानबिन गरेर गत मे २१ मा पनि आयोगले १०३ वटा मतदान केन्द्रको निर्वाचन रद्द गरेको थियो ।
मतदाता परिचयपत्र नभएकाहरुलाई इराकको नागरिकतासँग मिल्ने अधिकारीक कुनै परिचय पत्र भएमा मतदान गर्न दिने व्यवस्था गरिएको थियो ।
संयुक्त राष्ट्रसंघको एक विषेश टोलीले यही मे १७ तारिखका दिन विज्ञप्ति जारी गर्दै उजुरीका आधारमा तत्काल छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न इराकको निर्वाचन आयोगलाई आग्रह गरेको थियो ।


