५ वर्षभित्र ७०० मेगावाट जलविद्युत् उत्पादन गरिने

मोरंग, १५ जेठ २०७५ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको आर्थिक समृद्धिका लागि निजी क्षेत्रका लागि लगानीमैत्री कानून निर्माण गरिने बताउनुभएको छ ।

नेपाल चेम्बर अफ कमर्शको प्रदेश नं १ च्याम्बर र मोरङ चेम्बर अफ कमर्श कार्यालयको उद्घाटनका क्रममा उहाँले यस क्षेत्रको व्यापार, पर्यटन, कृषि क्षेत्र लगानी वृद्धि गरी रोजगारी उपलब्ध गराउने उद्योगीलाई प्रदेश सरकारले सुरक्षाको प्रत्याभूतिसहित सहुलियत रुपमा जग्गा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्दै चिया, अलैँची अम्रिसो र अदुवाको अत्यधिक उत्पादन गरी छिमेकी देशका साथै बंगलादेश र भुटानका मुख्य बजारबाट आर्थिक लाभ लिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अरुण, तमोर बहुउद्देश्यीय आयोजना, दूधकोशी नदी आदिबाट ५ वर्षभित्र ७०० मेगावाट जलविद्युत् उत्पादन गरिने बताउनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले चेम्बरको प्रदेश कार्यालय स्थापनाले विराटनगरलाई स्थायी राजधानी बनाउन बल पुगेको बताउनुभयो । चेम्बरका केन्द्रीय अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारले भारतको विशाखापट्टनम बन्दरगाहबाट रेल्वेमार्फत नेपालमा ढुवानी गर्न पहल गर्नुपर्नेमा जोड दिँदै आर्थिक समृद्धिका लागि ‘लगानी र व्यापारीमैत्री’ कानून बनाउन सुझाव दिनुभयो ।

सो अवसरमा प्रदेश नं १ का १४ जिल्ला कार्यालयलाई सदस्यता प्रमाणपत्र वितरण गरिएको थियो । चेम्बरको मुलुकको संघीय संरचनानुसार ७ वटै प्रदेशमा १०५ वस्तुगत संस्था, २१ अन्य र ७५ विदेशी व्यापारीसंस्थासँग आबद्धता छ । चेम्बरमा १ हजार ६०० उद्योग र वाणिज्य सदस्य सूचीकृत छन् ।

 

  • 37Read This News:
  • 480246Total reads:
  • 287728Total visitors: