काठमाडौँ, १९ कात्तिक २०७३। भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालमा जारी संविधानको सफल कार्यान्वयनका लागि सबै समुदायको भावना समेट्ने गरी नेपाल सरकार अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।
इन्डियन फाउन्डेसन, नीति अनुसन्धान प्रतिष्ठान नेपाल र नेपाल सेन्टर फर कन्टेम्प्रोररी स्टडिजद्वारा संयुक्तरुपमा यहाँ विहिवार आयोजित “नेपाल–भारतबीच पहिलो बहुपक्षीय संवादः नयाँ अनुसन्धान” विषयक गोष्ठीको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले भारतको सबैभन्दा नजिकको छिमेकी मुलुक नेपाल बहुदलीय प्रजातन्त्रलाई समृद्ध बनाई आर्थिक विकासमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति मुखर्जीले विश्व एकअर्कामा अन्तरसम्बन्धित भएको अवस्थामा आपसी सम्बन्धलाई दरिलो बनाउँदै शान्ति, स्थायित्व र समृद्धिलाई एकआपसमा आदानप्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “सामाजिक एवम् आर्थिक क्षेत्रको विकासमा नेपाल–भारत सम्बन्ध गहिरो छ । द्विपक्षीय व्यापार र लगानी परस्पर सहयोगका आधारमा अगाडि बढेको छ ।”
व्यापार पूर्वाधार विकास गरेर एकअर्काको व्यापार सहजीकरण गर्नुपर्ने जोड दिँदै राष्ट्रपति मुखर्जीले भन्नुभयो – पारवहनलाई सहज बनाउनका लागि दुबै देशले निरन्तर रुपमा काम गर्नुपर्दछ ।
उहाँले विश्वको अर्थतन्त्रमा मन्दी आएका बेलामा पनि भारतले लगातार रुपमा आर्थिक रुपान्तरणमा अगाडि बढेको प्रसङ्ग उल्लेख गर्दै रोजगारी तथा अवसर सिर्जना नगरिकन आर्थिक समृद्धि नहुने हुँदा यसमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रपति मुखर्जीले उत्पादन क्षमतालाई विस्तार गर्दै भारत सरकारले पूर्वाधार विकास, कृषि तथा ग्रामीण विकासमा विशेष जोड दिएको बताउँदै त्यसका लागि नयाँ प्रविधिको प्रयोग गरिरहेको र यसमा नेपालले पनि अगाडि बढ्नुपर्ने बताउनुभयो ।
“दुबै मुलुकका जनता गरिब भएर बस्न सक्दैनन्, शिक्षा, स्वास्थ्य एवम् रोजगारमा भेदभाव नगरिकन अगाडि बढ्नुपर्छ”– उहाँले भन्नुभयो ।
राष्ट्रपति मुखर्जीले नेपाल–भारत लामो समयदेखि विकास साझेदार मुलुक हो भन्दै स्थानीय जनताको फाइदाका लागि सडक बिस्तार, सिँचाइ, पुल निर्माण, ऊर्जा एवम् अन्य विकासका क्षेत्रमा दुबै मुलुकले सहकार्य गरेर आगाडि बढनुपर्ने बताउनुभयो ।
नेपालमा गत वर्ष गएको भूकम्पपछिको पुनःनिर्माणका लागि भारतले सहयोग अगाडि बढाएको पनि उहाँले बताउनुभयो । राष्ट्रपति मुखर्जीले नेपालमा सञ्चालित भारतीय सहयोगका आयोजना कार्यान्वयनका लागि नियमन जरुरी भएको बताउँदै त्यसलाई दुवै देशका संयन्त्रले ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालमा जलविद्युत्को अथाह सम्भावना भएको चर्चागर्दै यसलाई प्रयोग गर्नसके दुबै देशका जनता लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति मुखर्जीले दुबै देशको संस्कृति सम्बन्धलाई अझ बढी सबल र सुदृढ बनाउनुपर्ने उल्लेखगर्दै बुद्धिष्ट सर्किटमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्न सक्ने बताउनुभयो । उहाँले दिगो विकास र वातावरणीय सुरक्षाका क्षेत्रमा दुबै देशले सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
समारोहमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणबाट दुई देशबीचको आपसी सम्बन्ध नयाँ शिराबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल–भारतबीच सदियौँदेखिको ऐतिहासिक सम्बन्ध अगामी दिनमा अझै प्रगाढ हुने उल्लेख गर्दै उहाँले दुई देशका जनतादेखि सरकारसम्मका सम्बन्धमा अगामी दिनमा थप निखारता ल्याउने बताउनुभयो ।
मन्त्री महतले गत वर्षको भूकम्पमा भारत सरकार र भारतीय जनताले पु¥याएको सहयोगको सराहना गर्दै भूकम्पलगतै उद्धार, राहत र पुनःनिर्माणमा पुरियाइएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद दिनुभयो ।
वर्तमान सरकारले राजनीतिक सम्बन्धलाई थप बलियो बनाउँदै एकअर्काको पारस्पारिक सहयोग विस्तारमा विशेष जोड दिएको बताउँदै उहाँले आगामी दिनमा भारतसँगको राजनीतिक, आर्थिक एवम् सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री महतले दुई मुलुकबीच विगतमा भएका सन्धी, सम्झौता तथा समझदारीलाई जनस्तरसम्म लैजानका लागि मन्त्री, सचिव एवम् प्राविधिक तहसम्म छलफल गरेर अगाडि बढ्न दुई मुलुक सहमत भएको बताउनुभयो ।


