हलेसीमा डिपबोरिङमार्फत खानेपानी वितरण

खोटाङ, १२ वैशाख २०७५ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको हलेसीमा डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको छ ।

सुख्खाग्रस्त क्षेत्रमा पर्ने हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको संगमलस्थल हलेसीमा मंगलबारदेखि डिप बोरिङमार्फत खानेपानीको व्यवस्था गरिएको हो ।

बसाहागुफादेखि केही माथिल्लो भागमा ड्रिलिङ मेसिन जडान गरेर निकालिएको खानेपानी केही तल निर्माण गरिएको २० हजार लिटरको ट्याङ्कीमा जम्मा गरेर वितरण शुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले जानकारी दिनुभयो ।

“करिब रु १४ लाखको लागतमा योजना सम्पन्न भएको छ,” उहाँले भन्नुभयो, “अहिले प्रतिसेकेण्ड ८ लिटरका दरले पानी निकालेर जम्मा गर्ने व्यवस्था गरिएको छ ।”

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका हलेसीवासीका लागि तत्कालका लागि डिप बोरिङमार्फत जमिनमुनिको पानी निकालेर वितरण गरिएको खानेपानी तथा सरसफाइ सबडिभिजन कार्यालय, खोटाङका प्रमुख विजय ठाकुरले बताउनुभयो ।

“खानेपानी अभावमा काकाकुल बनेका हलेसी क्षेत्रका करीब ३५० घर परिवार यो योजनाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो, “यो योजनाले हलेसी आउने आन्तरिक तथा बाह्य पर्यटक र दर्शनार्थीलाई समेत सहज हुनेछ ।”

सुख्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा सुनकोशी नदीको पानी लिफ्ट गरेर बजार क्षेत्रमा तान्ने आयोजनाको कामसमेत शुरु गरिएको छ । नदीको पानी तान्ने आयोजनासँगै विकल्पमा डिप बोरिङ शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

बाह्रै महिना पर्यटक तथा दर्शनार्थीको घुइँचो लाग्ने हलेसीमा यसअघिसम्म वर्षामा परेको पानी छानामा पाइप जडान गरेर संकलन गरेको तथा नदीबाट बोकेर ल्याएको पानी प्रयोग गरिँदै आइएको थियो ।

यसअघि हलेसी मन्दिरभन्दा केही तलको पानी लिफ्ट गरेर निकालिए पनि मुहानमा पर्याप्त पानी नहुँदा उक्त योजना असफल भएको छ ।

 

  • 73Read This News:
  • 458621Total reads:
  • 268184Total visitors: