तेजाब खन्याउने प्रहरीविरुद्ध ज्यान मुद्दा

चितवन, १० वैशाख २०७५ । एक महिलालाई आइतबार शरीरमा तेजाब खन्याउने प्रहरी नायब निरीक्षकविरुद्ध ज्यान मार्ने उद्योगमा आज मुद्दा दर्ता भएको छ ।

गोरखा घर भई भरतपुर महानगरपालिका– ४ त्रिचोकमा डेरा गरी बस्ने कल्पना श्रेष्ठमाथि डेरा नजिकैको चोकमा तेजाब खन्याउने दंगा नियन्त्रण गण हेटौँडा दरबन्दी भई अस्थायी ट्राफिक पोष्ट टाँडीमा कार्यरत प्रहरी नायब निरीक्षक रामचन्द्र खनियाविरुद्ध ज्यान मुद्दा दर्ता गरिएको हो ।

श्रेष्ठका पति तारा दल गण बारामा कार्यरत नेपाली सेनाका जवान ३० वर्षीय किसान श्रेष्ठले भरतपुर महानगरपालिका– १२ का ५१ वर्षीय प्रहरी नायब निरीक्षक खनियाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्नुभएको हो । जाहेरीमा ज्यान मार्ने आशयले तेजाब छर्किएको उल्लेख छ ।

प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले खनियालाई आजै म्याद थप गरी विस्तृत अनुसन्धान थाल्ने बताउनुभयो । तेजाब छर्किएपछि घाइते हुनुभएकी श्रेष्ठको हाल भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तथ्यांक कार्यालयले गरेको आर्थिक गणनामा गणकका रुपमा कार्यरत २८ वर्षीया श्रेष्ठको शरीरको कान, आँखा, छाती र खुट्टामा तेजाब परेको छ ।

अस्पतालमा उपचाररत श्रेष्ठले खनियाले आफूलाई विगत लामो समयदेखि पछ्याउँदै आएको बताउनुभयो । यसरी पछ्याउने, टेलिफोन गर्ने, धम्क्याउने गरेपछि आफू र श्रीमान् मिलेर प्रहरीमा खनियाविरुद्ध उजुरीसमेत दिएको उहाँले बताउनुभयो ।

 

  • 59Read This News:
  • 480392Total reads:
  • 287867Total visitors: