काठमाडौँ, २३ चैत २०७४ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा आर्थिक समृद्धिको लागि धनी र गरीबबीच दूरी नबढ्ने गरी विकासको मोडल तय गर्नुपर्ने बताउनुभएको छ ।
दोस्रो सहकारी महासम्मेलनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्यमा समाजवादको आधार निर्माण हुने गरी आर्थिक विकासको मोडल तय गर्नुपर्ने उल्लेख गर्नुभयो ।
“अब राज्य कतातिर जाने हो, हाम्रो विकासको बाटो कस्तो हुने हो भनेर हामीले राजनीतिक रुपले संविधानतः स्पष्ट पारेका छौँ अब हामी जाने समाजवादको बाटो हो,”–उहाँले भन्नुभयो ।
अध्यक्ष प्रचण्डले सहकारी आन्दोलन राज्यलाई एकताको सूत्रमा बाँध्ने आन्दोलन भएको बताउँदै यसले समाजका विपन्न वर्ग र समुदायलाई समृद्ध पार्ने बाटोको खोजी गर्छ भन्नुभयो । उहाँले नेपाल सुशासन, स्थिरता र विकासको महाअभियानको प्रारम्भिक चरणमा रहेकाले अब विकासको नयाँ मोडलमा प्रवेश गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।


