सरकारले काठमाडौँ उपत्यकामा व्याप्त धुलो र धुवाँको समस्या नियन्त्रणका लागि धुलो नियन्त्रण इकाइ गठन

काठमाडौँ, २० चैत २०७४ । सरकारले काठमाडौँ उपत्यकामा व्याप्त धुलो र धुवाँको समस्या नियन्त्रणका लागि छुट्टै इकाइ गठन गरेर काम थालेको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको निर्देशनमा साविकको वातावरण मन्त्रालयले मन्त्रालयमा शाखाकैरुपमा रहने गरी ‘धुलो नियन्त्रण इकाइ’ गठन गरेको हो । तत्कालका लागि इकाइको नेतृत्व वातावरण विभागका उपसचिव शंकरप्रसाद पौडेलको नेतृत्वमा समिति गठन गरिएको मन्त्रालयका सचिव प्रकाश माथेमाले जानकारी दिनुभयो ।

“मन्त्रीको निर्देशनमा धुलो नियन्त्रण इकाइ’ गठन गरेका छौँ”, माथेमाले भन्नुभयो, “अब धुलो नियन्त्रणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गर्छौं ।” वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले संविधानले हरेक नागरिकले स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारको ग्यारेण्टी गरेको भन्दै सरकार संविधानप्रदत्त नागरिकका हकबारे सचेत रहेको बताउनुभयो ।

उहाँले राजधानीको धुलोका कारण सर्वसाधारणले कष्टपूर्ण जीवन बिताउनु परेकोबारे आफू जानकार रहेको र उक्त अवस्थाको यथाशक्य छिटो अन्त्य गर्ने गरी काम थालिने प्रतिबद्धता जनाउनुभयो ।

उपत्यकामा धुलो र धुवाँ फैलनुका कारणबारे आफ्नो निर्देशनमा वातावरण विभागले अध्ययन प्रतिवेदन तयार पारेको जानकारी दिँदै उहाँले प्रतिवेदनले औँल्याएका समाधानका उपाय अवलम्बन गरेर जनतालाई धुलो/धुवाँमुक्त वातावरण बनाउन तयार रहेको बताउनुभयो ।

धुलोको प्रमुख स्रोत सडक आयोजना निर्माणमा भइरहेको ढिलाइ भएकाले आफूले सरोकारवाला सबै निकायलाई छलफलमा बोलाएको जानकारी पनि मन्त्री बस्नेतले दिनुभयो । उहाँले राजधानी उपत्यकामा मास्क लगाएर हिँड्ने अवस्थाको सकेसम्म छिटो अन्त्य गरिने उल्लेख गर्नुभयो ।

 

  • 30Read This News:
  • 407004Total reads:
  • 220317Total visitors: