यातायातलाई व्यवस्थित बनाउन कार्यविधि संशोधन

काठमाडौँ, १९ चैत २०७४ । यातायात क्षेत्रलाई व्यवस्थित बनाउन यातायात व्यवस्था विभागले पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै ६ वटा नयाँ जारी गरेको छ ।

संशोधित र नयाँ जारी भएका निर्देशिका आजैदेखि लागू हुने विभागले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो । संशोधन भएका कार्यविधिमा यातायात व्यवस्थापन–२०६०, मालवाहक सवारीको भारवहन नियमन–२०७१ र सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन–२०६९ छन् ।

यसैगरी नयाँ जारी भएका कार्यविधिमा कारखाना तथा वर्कशप दर्ता सञ्चालन मापदण्ड, बाटो (रुट) निर्धारण निर्देशिका, बस बडी बिल्डिङ मापदण्ड, मझौला तथा साना सवारी परीक्षण निर्देशिका र सवारी प्रदूषण परीक्षण निर्देशिका रहेको विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताउनुभयो ।

कार्यविधिमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली २०५४ मा हालसम्म भएका संशोधनलाई समेटिएको छ ।

“प्रशासनिक तथा प्राविधिक सेवालाई छिटो, पारदर्शी, भरपर्दो बनाउने उद्देश्यले यातायात व्यवस्था कार्यालय, सेवा कार्यालय तथा सवारी परीक्षण कार्यालयलाई अधिकार प्रत्यायोजन गरी कर्मचारीलाई जवाफदेही बनाइएको छ”, उहाँले भन्नुभयो ।

विभाग र कार्यालयका कर्मचारीको जिम्मेवारीको बाँडफाँट प्रकृतिअनुसार उचितरुपमा गरिएको जनाइएको छ । यातायात सेवा विभागमा पञ्जीकरण नगरी मार्ग इजाजत तथा हेरफेरको अनुमति नपाउने व्यवस्था गरिएको छ । संगीत रोयल्टी र कर चुक्ता प्रमाणपत्रको व्यवस्था पनि कार्यविधिमा गरिएको छ । सवारीमा बालश्रम निषेधको व्यवस्था गरिएको छ ।

यसैगरी, सरकारले ‘स्कुल बस निर्देशिका– २०७४’ जारी गरेको छ । सामुदायिक तथा निजी विद्यालयले विद्यार्थी बोक्ने बसलाई व्यवस्थित बनाउनका लागि निर्देशिका जारी गरेको विभागका निर्देशक रुपनारायण भट्टराईले जानकारी दिनुभयो ।

उहाँले निर्देशिका जारी भएसँगै सबै विद्यालयमा नयाँ शैक्षिकसत्रदेखि लागू गरिने बताउनुभयो । उहाँले विद्यालयले निर्देशिका लागू नगरे कारबाहीसमेत गरिने बताउनुभयो । “हरेक दिन विद्यालय बसको निर्देशिकाअनुसार सञ्चालन भएका छन् वा छैनन् भनेर नियमन हुन्छ”, उहाँले भन्नुभयो, “निर्देशिका अनुसार बस सञ्चालन नगरे विद्यालय तथा चालकलाई कारबाही गरिनेछ ।”

निर्देशिकामा निजी तथा सामुदायिक दुवै विद्यालयका बसको रङ पहेँलो हुनुपर्ने, बस प्रतिघण्टा ३० किलोमिटरका दरले मात्र सवारी चलाउन पाउने, स्कुल बसका सवारी साधनका चालक र सहचालकले विद्यालयले तोकेअनुरुपको पोशाक लगाउनुपर्ने, चालक तथा सहचालक दुवैले अनिवार्यरुपमा परिचयपत्र बोक्नुपर्ने, भाडाका सवारी साधन भए अगाडि पछाडि विद्यालयको नाम, ठेगाना स्पष्ट देखिने गरी ब्यानर राख्नुपर्ने, भाडाका सवारी साधनले बिहान ९ बजेभित्र विद्यार्थीलाई विद्यालय पु¥याउनुपर्नेजस्ता व्यवस्था गरिएको छ ।

यसैगरी निर्देशिकामा भाडाका सवारीले भने पटके बाटो इजाजत लिनुपर्ने, बसको झ्यालमा ग्रिल तथा डण्डी राखिएको हुनुपर्नेछ, विद्यालय बसमा विद्यालयको ठेगाना, फोन नम्बरसमेत राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

 

  • 27Read This News:
  • 406860Total reads:
  • 220179Total visitors: