इजरायल, १३ चैत २०७४ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँका पारिवारिक सदस्यहरूलाई प्रहरीले सोमबार भ्रष्टाचारबारे सोधपुछ गरेको छ ।
देशको सबैभन्दा ठुलो दुरसंचार कम्पनीमा भएको अनियमिततामा उहाँ र उहाँका परिवारको संलग्नताबारेमा प्रहरीले सोधपुछ गरेको हो ।
प्रहरीले प्रधानमन्त्री नेतान्याहु सहित उहाँकी श्रीमती र उहाँको छोरासँग सोधपुछ गरेको इजरायली अधिकारीले जनाएका छन् ।
उहाँलाई जेरुसेलममा रहेको प्रधानमन्त्रीको सरकारी निवासमै पुगेर सोधपुछ गरेको एक जना प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।
प्रहरीले उहाँहरुलाई झण्डै चार घण्टासम्म सोधपुछ गरेर भ्रष्टाचारमा उहाँको संलग्नता भएको वा नभएको बारेमा अनुसन्धान गरेको ती प्रहरी प्रवक्ताले बताए । उही समयमा उहाँहरु तीनै जनालाई छुट्टा छुट्टै सोधपुछ गरिएको थियो ।
प्रधानमन्त्री नेतान्याहुलाई प्रधानमन्त्री निवासमै सोधपुछ गरिएपनि प्रधानमन्त्रीकी पत्नी सारा नेतान्याहुलाई भ्रष्टाचार विरुद्ध काम गर्ने निकायको कार्यालयमा र छोरा याइर नेतान्याहुलाई इजरायली सुरक्षा अधिकारीहरुको कार्यालयमा सोधपुछ गरिएको हो ।
भ्रष्टाचारको अभियोग लागेपछि नेतान्याहु र परिवारका अन्य सदस्यहरु अनुसन्धानको घेरामा परेका छन् भने यही विषयमा नेतान्याहु दम्पत्तिलाई दोस्रो पटक सोधपुछ गरिएको हो ।
प्रधानमन्त्री पुत्रलाई भने यस विषयमा पहिलो पटक सोधपुछ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन् ।


