आज लक्ष्मीपूजाः धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी मनाइदै

काठमाडौँ, १४ कात्तिक २०७३ । यमपञ्चकको तेस्रो दिन आज साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ ।

बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ एवम् लिपपोत गर्ने गरिन्छ ।

लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । आज साँझ मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।

गृहेणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।

लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ ।

आज साँझ केटीहरू समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।

सत्ययुगमा वामन अवतार भगवान् विष्णुले तीन पाउ भूमि माग्दा दानवराज बीलले भगवान्लाई सन्तुष्ट पारी दानवीरको अनुपम उदाहरण प्रस्तुत गर्दै जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गरुन् भन्ने वर मागेकाले त्यस दिनदेखि लक्ष्मीपूजाको महिमा सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

 

  • 59Read This News:
  • 417806Total reads:
  • 230554Total visitors: