इरान, १८९ पुस २०७४ । इरानको न्यायालयले केही दिनदेखि जारी आन्दोलनका क्रममा हिंसात्मक गतिविधिमा सहभागी भएको पाइएमा कडाभन्दा कडा जरिवाना हुने जनाएको छ ।
इरानीको तास्निम न्यूज एजेन्सीले न्यायालयलाई उद्धृत गर्दै आन्दोलनका क्रममा हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको जनाएको छ ।
गृहमन्त्रालयद्वारा हिंसात्मक गतिविधिलाई वढावा दिन भेला नहुन गरिएको आदेशपछि ठूलो सङ्ख्यामा प्रदर्शनकारी पक्राउ भएका छन् । पक्राउ परेका आन्दोलनकारीले हिंसात्मक गतिविधि गरेको पुष्टि भएमा उनीहरूले कडा सजाँय भोग्नुपर्छ, तेहरानको क्रान्तिकारी न्यायालयका मौसा कजानफरावादीलाई उद्धृत गर्दै तास्निमले उल्लेख गरेको छ ।
इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको सङ्ख्या विगत पाँच दिनमा २१ पुगेको छ । राष्ट्रपति हसन रौहानीले भने कानून मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले कडा प्रतिवाद गर्ने बताउनुभएको छ । मूल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँदै गएपछि हालसम्म सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् ।


