मल अभाव हुँदा किसान प्रभावित

रत्ननगर , ६ असोज २०७४ । धानखेतीका लागि अहिले अत्यावश्यक देखिएको युरिया मलको अभाव भएको छ ।

विगत १० दिनदेखि सरकारी अनुदानमा आउने मलको अभाव भएपछि किसान चर्को मूल्य तिरेर निजीस्तरबाट आएको मल खरिद गर्न बाध्य भएका छन् ।

चितवनमा भदौमा एक हजार मेट्रिक टन मल खपत हुनेमा कृषि सामग्री कम्पनी लिमिटेडबाट जम्मा ३५० मेट्रिक टन वितरण भएको कम्पनीका प्रमुख रवीन्द्र गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार प्रदेश नं २ नं को निर्वाचनका कारण वीरगञ्ज भन्सारमा मल थन्किएको छ । कर्मचारी सबै निर्वाचनमा खटिएकाले समस्या भएको हो । “दशैँ अगाडिलाई एक–दुई चरण मल वितरण गर्ने योजना बनाएका छौँ”, गौतमले भन्नुभयो । जिल्लाको पश्चिम क्षेत्रमा पछौंटे रोपाइँ भएको छ । सो क्षेत्रमा अहिले धानका लागि युरिया मल आवश्यक छ । तर अनुदानको मल नहुँदा किसान प्रभावित भएका छन् । मल बिक्री गर्दै आएको साल्ट ट्रेडिङमा समेत युरिया मल नपाएपछि किसानले चर्को मूल्य तिर्न बाध्य भएका छन् । निजी क्षेत्रको मल प्रतिबोरा रु ५०० देखि रु ६०० महँगो पर्न जाने गौतम बताउनुहुन्छ ।

चितवनको रत्ननगरस्थित कृषि सामग्री सप्लायर्सका सञ्चालक सबिन रेग्मी मल नहुँदा किसान त्यसै फर्कनु परेको बताउनुहुन्छ । वीरगञ्जको साल्ट ट्रेडिङमा मल थुप्रिएर बसे पनि नपठाउँदा समस्या भएको रेग्मीको भनाइ छ । जिल्लामा वार्षिक १५ हजार मेट्रिक टन मलको माग हुन्छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनका प्रमुख बुद्धिविनोद दाहाल वीरगञ्ज कार्यालयमा मल आए पनि चुनावका कारण रोकिएकाले केही दिनमै मल आइपुग्ने बताउनुहुन्छ । उहाँले असोज लागेपछि चितवनको गोदाममा मल सकिएको बताउनुभयो ।

कृषि सामाग्री कम्पनीले १३ हजार मेट्रिक टन मलको माग गरे पनि जिल्लामा कूल ९ हजार मेट्रिक टनको मात्रै स्वीकृति भएको कम्पनीका प्रमुख गौतम बताउनुहुन्छ । उहाँका अनुसार नेपालमा ४ लाख मेट्रिक टन मलको आवश्यकता भए पनि कृषि सामग्रीमार्फत २ लाख र साल्ट ट्रेडिङमार्फत ८५ हजार मेट्रिक टन मात्रै मलको आपूर्ति हुने गरेको छ ।

 

  • 41Read This News:
  • 417669Total reads:
  • 230424Total visitors: