राजपाले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने

काठमाडौँ, ८ भाद्र २०७४ । राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

“पार्टीले उठान गर्दै आएको प्रमुख माग संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्बाट प्राविधिक रुपमा असफल भए पनि आफ्ना अधिकार र पहिचान स्थापित भएको हुँदा आगामी दिनमा हुने सबै निर्वाचनमा भाग लिन्छौँ,” पार्टीको निर्णयमा उल्लेख छ ।

पार्टीद्वारा दुईदिने केन्द्रीय पदाधिकारी तथा अध्यक्ष मण्डलका बैठकका निर्णयबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकारसम्मेलनमा संविधान संशोधनको पक्षमा बन्दै गएको वातावरणलाई आफ्नो पक्षमा पार्न नसक्नु सरकारको कमजोरी भएको ठहरसमेत बैठकले गरेको छ ।

बैठकले तेस्रो चरणको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारी चयन गर्न निर्वाचन हुने ८ वटै जिल्लामा केन्द्रीय पर्यवेक्षक पठाउने निर्णयसमेत गरेको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पत्रकारसम्मेलनमा जानकारी दिनुभयो ।

आगामी असोज २ गते प्रदेश नं २ मा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । संविधान संशोधनको माग पूरा नभएको भन्दै राजपाले स्थानीय तहको यसअघि सम्पन्न २ चरणको निर्वाचन बहिष्कार गरेको थियो ।

बैठकले बाढीपीडितलाई राहत, पुनःस्थापना तथा क्षतिको पुनः निर्माण गर्न, बाढी प्रभावित पुनः निर्माण प्राधिकरण गठन गर्न मागसमेत गरेको छ । यसका लागि दबाब तथा संविधान संशोधन विफल पारिएकामा यही भदौ ९ गतेदेखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधी विरोध प्रदर्शन गर्ने समेत निर्णय गरेको छ ।

पत्रकारसम्मेलनमा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसित सहकार्य नगर्ने तर स्थानीय आवश्यकताअनुसार हुन सक्ने जानकारी दिनुभयो । सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले निर्वाचनमा छाता चुनाव चिह्न नपाएमा साइकल चिह्न लिएर निर्वाचनमा जाने छौँ भन्नुभयो ।

 

  • 23Read This News:
  • 438432Total reads:
  • 250429Total visitors: