सरकारी कागजात किर्ते गरी कार तथा मोटरसाइकल किनबेच गर्ने गिरोहका नाइके पक्राउ

कञ्चनपुर, ३० असार २०७४ । सरकारी कागजात किर्ते गरी कार तथा मोटरसाइकल किनबेच गर्ने गिरोहका नाइके कैलाली, भजनी–३ का ३७ वर्षीय गोकुलप्रसाद श्रेष्ठलाई प्रहरीले आठ थान जीपसहित पक्राउ गरेको छ ।

श्रेष्ठसँगै उनका सहयोगी भीमदत्तनगरपालिका–४ का २५ वर्षीय हिमाल जोशीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । लाखौँ मूल्य पर्ने कार तथा मोटरसाइकल भारतबाट ल्याएर भन्सार लिलाम गरेको किर्ते कागजात महाकाली र सेती अञ्चल यातायात कार्यालयमा दर्ता गर्ने गिरोहका नाइकेलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले बिहीबार बुटवलबाट पक्राउ गरी आज भीमदत्तनगरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रकाशबहादुर चन्दका अनुसार अभियुक्त श्रेष्ठले छ महिनायता बर्दियाको गुलरिया छोटी भन्सार कार्यालयबाट सवारी साधन लिलाम गरेका कागजात यातायात कार्यालयमा दर्ता गर्ने क्रममा पेश गर्ने गरेका थिए । वैधानिक रुपमा सवारी साधन छोटी भन्सार कार्यालयले लिलाम गर्न मिल्दैन ।

अभियुक्तका साथबाट रु १ लाख, २ थान ल्यापटप, एक दर्जन गाडीका ब्लुबुक, बैंकमा राजश्व दाखिला गरेको भौचरलगायत सामग्री बरामद गरिएको छ । लिलाम प्रक्रिया पूरा गरेका कागजातसहित यातायात कार्यालय पुग्ने गरेका श्रेष्ठलाई यातायात कार्यालयले पनि आवश्यक दर्ता प्रक्रिया पूरा गर्ने गरेको देखिएको छ । “किर्ते कागजातका आधारमा दर्ता गरी ढड्डामा अभिलेख राखी ब्लुबुक दिँदासम्म यातायात कर्मचारीहरुको गम्भीर त्रुटि देखियो”, प्रहरी उपरीक्षक चन्दले पत्रकार सम्मेलनमा भन्नुभयो, “यहाँ दर्ता गरेर धौलागिरिलगायत अन्य अञ्चल कार्यालयमा अञ्चलीकरण गर्ने क्रममा घटनाको रहस्य खुल्यो ।”

भारतबाट नेपालतर्फ चोरीका गाडी पठाउने गिरोहका तीन भारतीयको पनि पहिचान भएको बताउँदै प्रहरीले पक्राउ गर्न भारतीयपक्षसित समन्वय गरिएको जानकारी दिएको छ । अभियुक्त श्रेष्ठले नेपाली नं हालेका जीप र मोटरसाइकल सस्तोमा बिक्री गर्ने गरेका थिए । “रु ६० लाख पर्ने जीपहरु २० लाखसम्म बिक्री गरेको देखियो” चन्दले भन्नुभयो, “खरिदकर्ताहरुले पनि गाडीका कागजात सक्कली देखेपछि किनमेल गरेको देखिन्छ ।”

श्रेष्ठले महाकाली अञ्चल यातायात कार्यालयबाट ७ जीप, १५ थान मोटरसाइकल तथा सेती अञ्चल यातायात कार्यालयमा १ थान जीप र २२ थान मोटरसाइकल दर्ता गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । प्रहरीले दर्ता खारेजीका लागि यातायात कार्यालयलाई पत्राचार गरिसकेको जनाएको छ । यातायात कार्यालयहरुले पनि श्रेष्ठले ल्याएका कागजात जाँच नगरी हचुवाका भरमा दर्ता गरी आवश्यक प्रमाण दिने गरेको देखिएको छ । सो अवैध कार्यमा यातायात कर्मचारीले पनि मिलोमतो गरेको आशंका गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ८ सवारी साधनमध्ये ५ कार र ३ थान मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । अरु कार र मोटरसाइकल अन्य क्षेत्रबाट नियन्त्रणमा लिएर ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । श्रेष्ठको पक्राउसँगै प्रहरीले म १ च ५१४, से १ च १८१०, म १ च ५२३, म १ च ५२५ र भारतीय नं प्लेटको एचआर ५१ बिआर ९३२७ नंको कार नियन्त्रणमा लिएको छ । से ४ प ५५३४, म २ प ६१४५ र म २ प ५८७७ नंको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।

ghori gadi

 

  • 69Read This News:
  • 459526Total reads:
  • 269032Total visitors: