दिनेशकुमार कार्कीको शरणार्थी सङ्घर्ष–गाथा ‘हन्बेर्नो’ सार्वजनिक

काठमाडौँ, २७ जेठ २०७४ । स्रष्टा दिनेशकुमार कार्कीद्वारा लिखित उपन्यास ‘हन्बेर्नो’ आज लोकार्पण गरिएको छ ।

भुटानी शरणार्थीहरुको जीवन–सङ्घर्षमा आधारित उपन्यासको वरिष्ठ पत्रकार किशोर नेपाल, आख्यानकारद्वय कृष्ण धरावासी, उमा सुवेदी र कवि केशव आचार्यले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

पुस्तकमाथि टिप्पणी गर्दै नेपालले भुटान र नेपालकै लागि घाँडो भएका भुटानी शरणार्थीको जीवन मिहिन रुपमा उपन्यासमा आएको बताउनुभयो । “परित्यक्त बनेका शरणार्थीहरुको बिजोगको कथा उपन्यासमा सजीव भएर आएको छ”, उहाँले भन्नुभयो – “भाषाशैली सरल बनेकाले उपन्यास सबैका लागि पठनीय बनेको छ ।”

धरावासीले “मैले त शरणार्थीहरुको झलकमात्र दिएको छु, हन्बेर्नोमा सबै कुरा आएका छन् । भुटानी शरणार्थीमाथि अब पुस्तक नलेखे पनि हुन्छ” – भन्नुभयो ।

लेखक कार्कीले पुस्तक लेखनको पृष्ठभूमि जोड्दै झापाको शरणार्थी शिविरमा रहेका भुटानीसँगको सम्पर्कले उपन्यास तयार भएको जानकारी दिनुभयो । “२०५४ सालतिर फुपाजूलाई खोज्न मेघालयतिर गएको थिएँ,’ उनले रचनागर्भ जोड्दै भन्नुभयो – “त्यहाँ काम गर्ने भुटानीहरुको पीडालाई नजिकबाट नियाल्ने मौका पाएँ र त्यही कथालाई जोडेर हन्बेर्नो तयार भएको हो ।”

भुटानबाट लखेटिएका र तेस्रो देश पुनर्वासको नाममा नेपाल छोड्न बाध्य शरणार्थीहरुको सङ्घर्ष–कथा बोकेको उपन्यास इन्डिगो इन्कले प्रकाशन गरेको हो । पुस्तकको मूल्य रु २९९ छ ।

 

  • 112Read This News:
  • 459144Total reads:
  • 268685Total visitors: