पोखरेली कलाकारमा ‘पानी रङको सहर’को पहिचान जोगाउने चिन्ता

पोखरेली कलाकारमा ‘पानी रङको सहर’को पहिचान जोगाउने चिन्ता

कास्की, ११ जेठ २०७४। पोखरा कलाकारिताको क्षेत्रमा पानी रङको सहरका रुपमा चित्रित बने पनि यो पहिचानलाई कसरी जोगाउने भन्ने चिन्ता यतिखेर पहिलो पुस्ताका कलाकारमा देखिएको छ ।

पोखरा र सेरोफेरोका ग्रामीण बस्ती, हिमाल तथा पहाड आदिलाई पानी रङको प्रयोग गरी दुरुस्त उतार्ने पोखरेली कलाकारको कलाकारिताका कारण नै यसले पानी रङको सहरका रुपमा आफ्नो छुट्टै पहिचान बनाए पनि भविष्यमा यसको निरन्तरता कसरी गर्ने भन्ने विषय अहिले चिन्ता र चासो बनेको छ ।

कलाकारितामा नै जीवन व्यतित गरेका ७३ वर्षीय पोखरेली वरिष्ठ कलाकर्मी वाई.सी. भूर्तेल पोखरेली चित्रकलामा पानी रङको प्रयोग यहाँको विशिष्ट प्रकृतिको मौलिकता भएको बताउनुहुन्छ । पानी रङको प्रयोगबाट लगभग ४५ हजार चित्र तयार गरिसकेका भूर्तेलको फाइन आर्ट ग्यालरीमा अझै पनि लगभग २ हजार ५०० को सङ्ख्यामा जीवन्त चित्रहरू छन् ।

उहाँकाअनुसार नेपालमा अहिले चित्रकलाले बिस्तारै व्यावसायिक गति लिँदै गए पनि युवापुस्तालाई यसमा अझै राम्रोसँग आकर्षित गर्न सकिएको छैन । “नेपाली कलाकारका चित्र देशी÷विदेशी बजारमा बिक्री बढ्दै गएको छ,” उहाँले भन्नुभयो, “ बजारको मागसँगै भावी पुस्तामा पनि जीवन्त चित्र कोर्ने क्षमताको विस्तार गर्नु आवश्यक छ, व्यावसायिक विकासका साथै स्थापित पहिचानलाई जोगाउनु अहिलेको आवश्यकता हो ।”

पछिल्ला समयमा पानी रङको प्रयोग गरी चित्रकला सिक्नका लागि युवापुस्ता पनि बिस्तारै आकर्षित हुन थालेको भूर्तेलको भनाइ छ । पोखरामा २०४२ सालदेखि २०५५ सम्म पानी रङको अत्यधिक प्रयोग गर्ने गरिएको अर्का पोखरेली कलाकार बुद्धि गुरुङले बताउनुभयो । पोखरेली कलाकारले पानी रङको प्रयोगबाट पृथक किसिमका चित्र उतार्ने गरेको बताउँदै उहाँले पोखरा र आसपासका क्षेत्रका जनजीवनलाई धेरै कलाकारले आफ्ना चित्रमा उतारिसकेको उल्लेख गर्नुभयो ।

काठमाडौँमा २०४८ सालमा गरिएको बृहत् कला प्रदर्शनीमा पोखरेली कलाकारको पानी रङको प्रयोगबाट बनाइएको उत्कृष्ट कलाकृतिबाट प्रभावित भएर उत्तम नेपाली, शशिविक्रम शाह, मनोजबाबु मिश्रलगायत वरिष्ठ कलाकारले सामूहिकरुपमा पानी रङको सहरका रुपमा पोखरालाई चित्रण गरेको उहाँले जानकारी दिनुभयो । “कलाकारितामा पोखराले पानी रङको सहरका रुपमा आफ्नो पहिचान कायम गरे पनि भावी दिनमा यो पहिचानलाई कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ,” उहाँले भन्नुभयो, “पोखरेली कलाको मौलिकता जोगाउने विषय सबैको चिन्ताको विषय बन्नुपर्छ ।”

अघिल्लो वर्षमा मात्र काठमाडौँमा ‘पानी रङमा पोखरा’ शीर्षक दिइएको प्रदर्शनीमा पोखराका दुई पुस्ताका प्रतिनिधि कलाकारका ६२ कला कृति प्रदर्शन गरिएकोमा ती सबैको आकर्षण बनेका थिए । पोखरामा सन् १९२९ मा काठमाडौँका चन्द्रमान सिंह मास्केले पानी रङको प्रयोग गरी तयार गरेको बिन्ध्यवासिनी मन्दिरको चित्र सुरक्षित रहेको बताउने साहित्यकार एवम् संस्कृतिकर्मी तीर्थ श्रेष्ठले त्यसपछि पोखराको चित्रकारितामा पानी रङको प्रयोग बढेको बताउनुभयो ।

सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिवसमेत रहेका श्रेष्ठका अनुसार आफ्ना जागिरे ससुरालाई भेट्न पोखरा पुगेका समयमा मास्केले बनाएका पानी रङका पोखरेली दृश्य अहिले पनि सङ्कलनमा भेटिन्छन् । मास्केपछि पोखराका अधिकांश चित्रकारले पानी रङको प्रयोग गरिएका जीवन्त चित्र तयार गरेका कारण कलाकारिताको क्षेत्रमा पोखरालाई पानी रङको सहरका रुपमा चित्रण गरिएको हुन सक्ने श्रेष्ठको भनाइ छ ।

मास्केपछि पोखराको भीमकाली पाटनका स्थानीयवासी स्व कृष्णप्रसाद श्रेष्ठले पानी रङको प्रयोग गरी धेरै चित्र तयार गरेका कारण पोखरेली कलाकर्मीले कृष्णप्रसाद श्रेष्ठलाई ज्येष्ठ कलाकारका रुपमा लिने गरेको उहाँले जानकारी दिनुभयो ।

पानी रङको प्रयोगबाट चित्र तयार गर्ने क्रम विगतमा निकै भए पनि पछिल्ला समयमा त्यसमा कमी आएको अर्का कलाकार बुद्धि गुरुङ बताउनुहुन्छ । “चित्रकलामा पानी रङको प्रयोग गरी ग्रामीण जनजीवन, प्रकृति आदिको जीवन्त चित्रण गर्नु पोखरेली कलाकर्मीको विशेषता हो,” उहाँले भन्नुभयो, “पछिल्ला समयमा बिस्तारै बाहिरी प्रभाव बढ्न थालेका कारण यहाँको मौलिक पहिचान नै हराउने हो कि भन्ने चिन्ता थपिएको छ ।”

पोखरामा २०३४ सालमा कलाकारको समूह गठन गरेसँगै कलाकारिताको विकासले केही फड्को मारेको पाइन्छ । ऐनामा वस्तुको प्रतिबिम्ब छर्लंङ्ग देखिए जस्तै रङ संयोजनसहितको आकृतिले मानसिक अवस्था चित्रण गर्ने भएका कारण चित्रकलाको आफ्नो छुट्टै महत्व रहेको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य नगेन सिंह बताउनुहुन्छ । नेपालको मौलिक कलाकारितालाई जोगाउनका लागि स्थानीय कलाकर्मीका साथै राज्यको पनि उत्तिकै महत्वपूर्ण दायित्व हुने उहाँले बताउनुभयो ।

 

  • 52Read This News:
  • 441901Total reads:
  • 253766Total visitors: