भरतपुरमा गोली प्रहार गरी लुटपाट

चितवन, ५ जेठ २०७४ । भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा गएराति एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले दिएको जानकारीअनुसार एकान्त ठाउँमा घर भएका ३३ वर्षीय गङ्गाराम महतोमाथि गोली प्रहार गरिएको छ भने उहाँकी आमा ५६ वर्षीया आशा साहुनी महतो, बहिनी २५ वर्षीया रामकुमारी महतोको टाउकामा धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको छ । हारगुहार गरेपछि हेर्न पुगेका छिमेकी ६० वर्षीय साहुराम महतोलाई पनि उनीहरुले कुटपिट गरेका छन् ।

महतोकी श्रीमती २७ वर्षीया कुन्ती महतोसमेत बेहोस भएको प्रहरीले जनाएको छ । उनीहरुलाई कुटपिट गरी घरमा रहेको रु एक लाख ५० हजार, दुई थान सिक्री, एक थान औँठी, एक थान बाला, एक थान मङ्गलसुत्र र ४ वटा मोबाइल लुटेराले लगेको थापाले बताउनुभयो ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गङ्गारामको टाउकाबाट कटुवा पेस्तोलको गोली झिकिएको छ भने आमा साहुनीको टाउकामा रगत जमेको प्रहरीले जनाएको छ । अन्यको अवस्था खतरामुक्त रहेको छ ।

राति ११ः४५ बजेको समयमा आएका ३ जना अपरिचित व्यक्तिले गोली प्रहार र धारिलो हतियार एवम् ह्यामर प्रयोग गरी आक्रमण गरेर लुटपाट गरेको थापाले बताउनुभयो । घटनालगत्तै प्रहरीको टोलीले अपराधी खोजीकार्य तिब्र परिएकोछ ।

 

  • 27Read This News:
  • 449343Total reads:
  • 260762Total visitors: