काठमाडौँ, २४ वैशाख २०७४। हास्य कलाकार तथा लेखक हरिवंश आचार्यको दोस्रो कृति उपन्यास ‘हरिबहादुर’ बजारमा आएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठानमा शनिवार आयोजित कार्यक्रममा हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उपन्यास विमोचन गर्नुभएको हो । यसअघि उहाँको आत्मकथा ‘चिना हराएको मान्छे’ आइसकेको छ ।
प्रज्ञा भवनको डबलीमा पुस्तक सार्वजनिक गर्दै अर्का सहकर्मी कलाकार मदनकृष्ण श्रेष्ठले आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ जस्तै यस उपन्यासले पनि लोकप्रियता प्राप्त गर्ने शुभकामना व्यक्त गर्नुभयो ।
श्रेष्ठले “हरिवंश मेरो परम मित्र प्यारो भाइ हो । जो मेरो जिन्दगी हो । मेरो आफ्नो केही छ भने ऊ हरिवंश हो । उसको पुस्तक आउँदा खुसी मेरो लागि ठूलो खुसीको कुरा हो ।”
आफ्नो पुस्तक पनि दसैँमा ल्याउने जानकारी दिँदै श्रेष्ठले पारिवारिक कारणले ढिला भएको स्पष्ट पार्नुभयो ।
पुस्तकका बारेमा बताउँदै लोकप्रिय लेखक बुद्धिसागरले नेपाली साहित्यमा आख्यानलाई धेरै रुन्चे बनाइएको भन्ने आरोप लागिरहेका बेला आचार्यको उपन्यासले नयाँ मोडमा लगेको उल्लेख गर्नुभयो ।
यो पुस्तक पढेपछि नेपाली आख्यान रुन्चे वा भावुकमात्र हुन्छन् भन्ने सोचमा परिवर्तन आउँछ लेखक बुद्धिसागरले अगाडि थप्नुभयो – “यो उपन्यासमा दुःखद विषयलाई पनि हास्यरसमा प्रस्तुत गरिएको छ । पढ्दा हसाउने विषय थुप्रै छन् । लेखनमा हँसाउने विषयलाई प्रस्तुत गर्न निकै गाह्रो छ ।”
पुस्तकका बारेमा बताउँदै लेखक आचार्यले हरिबहादुरका १५ प्रतिशत विषय टेलिचलचित्रको पात्र हरिबहादुरसँग मिले पनि बाँकी विषय नयाँ छन् । मैले अघिल्लो पुस्तकमा लेख्न नसकेका कुरालाई पनि यसमा राखेको छु । यो गाउँबाट सहरमा ल्याइएको युवा जसका क्रियाकलाप व्यक्तिगत भएर पनि सामाजिक राजनीतिक बनेका छन् भन्नुभयो ।
मदनकृष्ण श्रेष्ठ र आफूले ४० वर्षदेखि नाटक लेखन गर्दै आएकाले रङ्गमञ्जमा प्रस्तुत गरेका प्रहसनलाई पुस्तकका रुपमा ल्याउने ठूलो जिम्मेवारी छिट्टै पूरा गर्ने पनि जानकारी दिनुभयो ।
आगामी जेठ ५ गतेपछि लेखकले हरिबहादुर किताब यात्रामा निस्केर देशका विभिन्न स्थानमा पाठकहरुसँग अन्तक्र्रिया गर्ने बताएका छन् । चितवन, पोखरा, बुटबल, दाङ, कोहलपुर, सुर्खेत, धनगढी, बिर्तामोड, विराटनगर, धरान, सिन्धुली गरी ११ ठाउँमा किताब यात्रामा पाठकसँग प्रत्यक्ष भेट र आचार्यको प्रहसन पनि हुनेछ ।


