८६ वर्षको उमेरमा उदघोषण तलिम लिदै मेखबहादुर गुरुङ्ग

कास्की, ८ चैत २०७५ । पोखरा महानगरपालिका वडा नं १३ का मेखबहादुर गुरुङ उमेरले ८६ वर्ष पुग्नुभयो तर सिक्ने मन बूढो हुँदैन भन्दै बोल्ने कला तालीममा सक्रिय सहभागी हुनुभयो । जुरेभुमे तप्रे तमु समाजको आयोजना तथा महिला उद्यमी पवित्रा गुरुङको आर्थिक सहयोगमा सञ्चालित पाँचदिने उद्घोषण तथा नेतृत्व विकास तालीममा सहभागी उहाँले समापन समारोहमा सिक्ने कुरा बाँचुञ्जेल कहिल्यै पूरा नहुने बताउनुभयो ।

“हाम्रा पालामा यस्तो अवसर कहाँ पाउनू, बोल्न नसक्दा र आफ्ना कुरा राख्न नसक्दा धेरै दुःख पायौँ पञ्चायतका पालामा”, आफ्नो विगत सम्झँदै अहिले पनि बोल्ने र आफ्नो कुरा भन्ने रहर नमेटिएको उहाँले बताउनुभयो । उहाँ जस्तै अन्य सहभागीले पनि तालीमबाट धेरै कुरा सिकेको भन्दै बोल्न पनि कला चाहिने रहेछ भन्ने आफ्नो अनुभव सनाए ।

तालीम समापन समारोहमा गण्डकी प्रदेशका सदस्य एवं हङकङ ब्यूटी इन्ष्टिच्यूटका सञ्चालक मीना गुरुङले बोल्ने कुराले आत्मविश्वास जगाउने भन्दै सामाजिक क्षेत्रमा मात्रै नभई घरपरिवार एवं समाजमा पनि बोल्ने कला आवश्यक रहेको बताउनुभयो ।

मादी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष पसबहादुर बाँस्तोलाले परिवर्तित समाजमा बोल्ने कला पनि अपरिहार्य बन्दै गएको धारणा राख्नुभयो ।
महिला उद्यमी एवं समाजसेवी पवित्रादेवी गुरुङले तालीमपछि सहभागीमा आत्मविश्वास बढेको र निर्धक्क कार्यक्रम सञ्चालनदेखि भाषण गर्न सक्षम भएको देख्दा खुशी लागेको बताउनुभयो । कार्यक्रममा भद्रकाली मावि व्यवस्थापन समितिका अध्यक्ष तारा बराल, कामना मार्ग आमा समूहका अध्यक्ष योमाया गुरुङ, समाजका अध्यक्ष अमर गुरुङ युवा समितिका अध्यक्ष हितमान गुरुङले सिकाइ अभ्यासबाट मात्र पोख्त भइने भन्दै सिक्न सधैँ उत्सुक हुन सहभागीलाई आग्रह गर्नुभयो ।

तालिमका सहभागी बुद्धमाया गुरुङ, अनिल गुरुङ, रोशन गुरुङ, मोहनप्रसाद गुरुङलगायतले बोल्ने कुरा सामान्य मानिए पनि विधि र प्रक्रियाबाट बोलिएको कुराले अर्थ राख्ने बताउनुभयो । उक्त तालीममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठ र सञ्चारिका समूह गण्डकी प्रदेशका निर्वतमान अध्यक्ष जमुना वर्षाले सहजीकरण गर्नुभएको थियो । तालीममा ४० जनाको सहभागिता थियो ।

रासस

 

  • 51Read This News:
  • 438559Total reads:
  • 250552Total visitors: