क्राइस्टचर्च मस्जिद आक्रमणका मुख्य आरोपीलाई अदालतमा पेश 

न्यूजिल्यान्ड, ३ चैत २०७५ । न्यूजिल्यान्डको क्राइस्टचर्चमा शुक्रवार ४९ जनाको हत्या भएको मस्जिद आक्रमणका मुख्य आरोपीलाई शनिवार अदालतमा उपस्थित गराइएको छ ।

अप्ट्रेलियन नागरिक २८ वर्षीय ब्रेन्टन टारेन्ट प्रहरीले बन्दीले लगाउने लुगा र हतकडीमा एउटा हत्याको अभियोगमा अदालत ल्याएको हो । उनीमाथि अरू अभियोजनहरू थपिने अपेक्षा गरिएको छ ।

अल नूर मस्जिदमा शुक्रवारको साप्ताहिक प्रार्थनाको समयमा शुक्रबार दिउँसो १ः४० मा एकजना बन्दुकधारीले मूलढोकामा गाडी रोकेर भित्र छिर्दै प्रार्थना गरिरहेकाहरूमाथि पाँच मिनेट आन्धाधुन्ध बन्दुक चलाउँदा ४९ जनाको मृत्यु भएको थियो ।

उक्त ४८ जना घाइते भएका छन् । घाइतेमध्ये दुई वर्षीय र १३ वर्षीय बालक पनि रहेका छन् । उनीहरू सबैको क्राइस्टचर्च अस्पतालमा उपचार भइरहेको ११ जनाको अवस्था गम्भीर रहेको अस्पतालका शल्यक्रिया प्रमुख ग्रेग रोबर्टसनले जनाउनुभयो ।

न्यूजिल्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डर्नले टारेन्टसँग पाँचवटा बन्दुकका लागि अनुमतिपत्र भएको बताउँदै भनिन्, “बन्दुकसम्बन्धी हाम्रो कानून अब परिवर्तन हुन्छ।”

प्रहरीले अन्य दुई जनालाई पनि हिरासतमा राखेको छ। हिरासतमा भएको कसैको पनि अपराधिक इतिहास भने छैन ।

अदालतले टारेन्टलाई एप्रिल ५ सम्मका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

शनिवारको पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डर्नले टारेन्टले प्रयोग गरेको गाडीमा थुप्रै हतियार भेटिएको र उसले आक्रमणलाई निरन्तरता दिने योजना बनाएको देखिएको बताउनु भएको छ ।

आर्डर्नले अल नूर मस्जिदबाट शव हटाउने कार्य जारी रहेको र सकेसम्म छिटो परिवारलाई हस्तातरण गर्न महत्वपूर्ण रहेको बताउनुभयो ।

घटनामा बङ्गलादेश, भारत र इन्डोनेसिया लगायतका नागरिक परेका बताइएको भएपनि उनीहरूको नाम सार्वजनिक गरिएको छैन ।

 

  • 53Read This News:
  • 459179Total reads:
  • 268713Total visitors: