काठमाडौँ, २२ कात्तिक २०७४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले साहसिक पर्यटनका निम्ति नेपाल अद्वितीय गन्तव्य भएको बताउँदै त्यसको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गर्न निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ ।
सगरमाथा क्षेत्रमा २३ हजार फिटको उचाइबाट ‘स्काई डाइभ’ गरेका मोरक्कोका नागरिक आनास बेकालीलाई मंगलवार काठमाण्डौमा आयोजित एक समारोहमा सम्मान गर्दै उहाँले धार्मिक, सांस्कृतिक एवं प्राकृतिक पर्यटनका निम्ति नेपालको प्रवद्र्धनमा साहसिक खेलाडीहरुको पनि महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
निजी क्षेत्रलाई पर्यटन–प्रवद्र्धनमा पर्याप्त लगानी गर्न आह्वान गर्दै मन्त्री देवले सरकारी स्तरबाट दिनुपर्ने सुविधा आफूले उपलब्ध गराउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपालका लागि मोरक्कोका अवैतनिक वाणिज्यदूत वसन्तकुमार चौधरीले प्राकृतिक छटाले सिँगारिएका नेपाल र मोरक्कोबीच धेरै समानता रहेको चर्चा गर्दै साहसिक पर्यटनमा खेलाडी बेकालीले नेपालको प्रतिष्ठा वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।


