बारा जिल्ला दूध उत्पादनमा आत्मनिर्भर बन्दै

वारा, २४ असोज  २०७४ । प्रदेश नं २ अन्तर्गत रहेको बारा दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ ।

जिल्ला पशुसेवा कार्यालयले सदरमुकाम कलैयालाई दूधको सहर (मिल्क सिटी)को रुपमा विकास गर्ने नीति अघि सारेको छ ।

दैनिक १ लाख ८० हजार लिटर दूध उत्पादन हुँदै आएको सदरमुकाम कलैया वरपरको करिब १० किलोमिटर क्षेत्रलाई दूधको सहरको रुपमा विकास गर्ने योजना रहेको कार्यक्रम रहेको वरिष्ठ पशु विकास अधिकृत डा देवनन्दन साहले बताउनुभयो ।

गाई भैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि जिल्लाका किसान दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएका छन् । आर्थिक वर्ष २०७२/७३ को तुलनामा आव २०७३/७४मा २४ प्रतिशतले कृत्रिम गर्भधान बढेको छ । जिल्लामा करिब ७० हजार किसान पशुपालन व्यवसायमा संलग्न छन् ।

जिल्लामा आव २०७३/७४ मा रु ३ अर्ब २६ करोड ६९ लाखको ६ करोड ५३ लाख ३८ हजार लिटर दूध उत्पादन भएको थियो । जिल्लामा दैनिक रु ९० लाख मूल्य बराबरको १ लाख ८० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । दैनिक ४० हजार लिटर दूध हेटौँडा, काठमाडौँ, पोखरा, विराटनगर, सप्तरीलगायत ठाउँमा बिक्री हुन्छ । करिब २२ प्रतिशत दूध स्थानीय बजारमा, मिठाई पसल तथा चिया पसलमा खपत हुन्छ ।

यसैगरी, जिल्लामा उत्पादन भएको रु ५ लाख मूल्यको १० हजार लिटर दूध दैनिक भारतीय बजारमा बिक्री गरिन्छ । जिल्लामा अघिल्लो आवमा रु ३ अर्ब १५ करोड २६ लाख ५० हजार मूल्यको ६ करोड ३० लाख ५३ हजार लिटर दूध उत्पादन भएको थियो । कार्यालयले किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रमअन्तर्गत गोठ निर्माण, दूध प्रशोधन, सहकारी संस्थालाई चिलिम भ्याट, बायो ग्याँस निर्माण, साइनो कीट निर्माण, डेरी सुधार तथा घाँस बाली उत्पादन गर्न अनुदान दिन थालेको छ ।

जिल्लामा ४० वटा डेरी उद्योग रहेको छ । गाई भैँसी कार्यक्रमलाई अझ प्रभावकारी बनाई दूध उत्पादनमा वृद्धि गर्न जिल्ला पशुसेवा कार्यालयले ग्रामीण बस्तीमा घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई घरदैलोमै पशुसेवासम्बन्धी प्याकेज कार्यक्रम सञ्चालन गरेको छ ।

 

  • 25Read This News:
  • 441947Total reads:
  • 253812Total visitors: