सप्तरीको वीरेन्द्रबजारमा दुई महिनादेखि खानेपानी ठप्प

सप्तरी, १८ असोज २०७४ । सप्तरीको रुपनी गाउँपालिकाअन्तर्गत वीरेन्द्र बजारमा विगत दुई महिनादेखि खानेपानी ठप्प हुँदा स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।

अविरल वर्षासँगै दुई महिना अगाडि आएको भिषण बाढीका कारण त्यहाँको खानेपानी पाइप बगाएपछि खानेपानी ठप्प भएको बताइएको छ ।

उक्त खानेपानीबाट त्यहाँका सयौँ उपभोक्ता पानीको सेवा लिँदै आएका भएपनि सम्बन्धित निकाय मौन बसेका कारण पानीको समस्या हुँदा अहिले अशुद्ध पानी उपभोग गर्न बाध्य भएको स्थानीय बृजमान तामाङले बताउनुभयो ।

शुद्ध पानी खाने आशामा धारा जडान गर्नका लागि रु १ हजार ५०० धरौटी र मासिक रु १०० को दरले मासिक बिल भुक्तानी गरेको भएपनि अहिलेसम्म नियमितरुपमा पानी उपभोग गर्न समेत नपाएको उपभोक्ताले गुनासो गरेका छन् ।

धाराको पाइप आधा फीट गहिराइसम्म बाढीले क्षतिग्रस्त बनाएको र सो पाइप लाइनबाट सवारीसाधन हिँड्दा पाइप फुट्दा खानेपानी अवरुद्ध भएको तामाङले भन्नुभयो ।

यसबारे जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीलाई जानकारी गराइएको भएपनि हालसम्म कुनै पहल नभएको स्थानीयको गुनासो छ ।

गत असार १७ गते अविरल वर्षासँगै आएको बाढीले वीरेन्द्र बजारमा रहेको सो खानेपानी पाइप बगाएको थियो ।

यसैबीच, जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख लोकेन्द्र यादवले बगाएको खानेपानी पाइप मर्मतको लागि चाँडै काम शुरु हुने बताउनुभएकोछ ।

 

  • 26Read This News:
  • 417491Total reads:
  • 230247Total visitors: