भरतपुर महानगर प्रमुखमा काँग्रेस–माओवादी केन्द्र गठबन्धनकी दाहाल विजयी

चितवन, २२ साउन २०७४। सर्वाधिक चासो र चर्चामा रहेको भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेस–नेकपा (माओवादी केन्द्र) गठबन्धनकी उम्मेदवार रेणु दाहाल २०३ मतको अग्रताका साथ विजयी भएकीछिन ।

उनले ४३ हजार १२७ मत प्राप्त गरी विजयी भएकीहुन । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरेको छ ।

यस्तै, राप्रपाका प्रमुख पदका उम्मेदवार बद्री तिमिल्सिनाले ६ हजार ८४२ मत प्राप्त गरेको छ ।

यसैगरी, भरतपुर महानगरपालिकाको उपप्रमुख पदमा काँग्रेसकी पार्वती शाह विजयी भएकीछिन । उनले ४७ हजार १९७ मत प्राप्त गरेकीछिन । उनको निकटतम् प्रतिद्वन्द्वी एमालेकी दिव्य शर्मा आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरेकीछिन । यस्तै, राप्रपाकी उपप्रमुख उम्मेदवार रिना गुरुङले ७ हजार २५२ मत प्राप्त गरेकीछिन।

भरतपुर महानगरका २९ वडामध्ये १४ वडामा एमाले, १२ वडामा काँग्रेस र ३ वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएको छ ।

भरतपुर महानगरपालिकामा सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो जसअनुसार माओवादी केन्द्रलाई प्रमुख र काँग्रेसलाई उपप्रमुख पद विभाजन गरिएको थियो । वडाहरुमा भने तालमेल हुन सकेको थिएन ।

पहिलो चरणमा भएको स्थानीय तह निर्वाचनअन्तर्गत भरतपुरमा वैशाख ३१ गते मतदान भएको थियो । २७ वटा वडाको मतगणना सकिएर १९ नं वडाको मतगणना भइरहँदा गत जेठ १४ गते मध्यरातमा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए जसका कारण भरतपुर–१९ मा शुक्रबार पुनः मतदान भएको थियो । वडा नं १९ को मतपत्र च्यातिएपछि गन्न बाँकी २० नं वडाको पनि गणना भएको थिएन । उक्त मत पनि आज गणना गरिएको हो ।

एमालेले तत्काल मतगणना सुरु गर्न माग गरेको थियो भने गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रले सो वडामा पुनः मतदान गराउन माग गरेका थिए । निर्वाचन आयोगले पनि मतदानकै पक्षमा निर्णय गरेको थियो । जुन निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्च अदालतले पनि निर्वाचन आयोगकै निर्णय सदर गरेको थियो । अदालतबाट आदेश आएसँगै भरतपुर–१९ मा पुनः मतदान भएको हो ।

पुनः मतदानबाट काँग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई फाइदा पुगेको छ । भरतपुर–१९ को मतपत्र च्यातिएपछि काँग्रेस–माओवादी केन्द्र गठबन्धनले संयुक्तरुपमा चुनाव प्रचारप्रसार गरेर अभियान नै चलाएका थिए । महानगरमा एकलाख ५० हजार २७४ मतदाता थिए ।

 

  • 98Read This News:
  • 459157Total reads:
  • 268693Total visitors: