ललितपुर, ७ माघ २०७३ । निर्माणाधीन कलङ्की–कोटेश्वर सडकमा पर्ने ४ वटा मोटर गुड्ने पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
निर्माणको ९५ प्रतिशत काम सकिएको काठमाडौँ चक्रपथ सडक योजनाले बताएको छ । यो सडक खण्डमा आगामी एक वर्षमा सकिने काममा पुलको कामसमेत रहेको योजनामा कार्यरत इञ्जिनियर रमेश दृष्टिले बताउनुभयो । उहाँले भन्नुभयो, ‘रेलिङ राख्ने, फुटपाथ बनाउनेलगायतका काम मात्रै बाँकी छ ।’
कलङ्की (खसीबजार), बल्खु खोला, बागमती खोला र बालकुमारीमा मनोहरा खोलामा गरेर ४ स्थानमा पुल निर्माणको काम भइरहेको छ । सडक जस्तै पुल पनि ८ लेनको बनाउन लागिएको हो । मुख्य लेन ४ र साइड लेन २÷२ गरेर आठ लेनको बाटो पुलमा निर्माण भइरहेको छ । पहिले मोटर गुड्ने पुल भएका यी स्थानमा छेउ–छेउबाट थप गरेर ८ लेन गुड्ने बनाउन लागिएको दृष्टि बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘आठलेन गुड्ने भएपछि पुलमा पनि सडकमा जस्तै जाम हुने छैन ।’
चिनियाँ सहयोगमा निर्माणाधीन चक्रपथको कलङ्की–कोटेश्वर सडकको कुल लागत ३ सय १२ मिलियन युयान रहेको छ । १०.३९ किलोमिटर सडकमा ५ किलोमिटर सडक यो वर्ष र बाँकी ५.३९ किलोमिटर सडक अबको २ वर्षभित्रमा सम्पन्न हुनेछ ।


