दशैको अवसरमा राष्ट्रपतिद्वारा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त

काठमाडौँ, २५ असोज २०७३ । राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले नेपालीहरुको महान् पर्व बडादसैँ, तिहार, नेपाल सम्वत् र छठका सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले आज दिनुभएको सन्देशमा अनेकतामा एकता तथा सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान कायम गर्नमा महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।

“विभिन्न जात जाति, समुदाय, भूगोल र धर्मावलम्बीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेका छन् ।” सन्देशमा भनिएको छ – “विजयादशमीले हिमाल, पहाड, तराई/मधेस तथा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बसोबास गर्ने भिन्नभिन्न जातजाति, वर्ण, भाषा, धर्म र सामाजिक एवम् सांस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि समान अवसरका ढोका खोली राष्ट्रिय एकता सुदृढ पार्न र सामाजिक सद्भाव एवम् आपसी भ्रातृत्व कायम गर्नसमेत सफल रहोस् भन्ने कामना गर्दछु ।”

नेपालको संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा अघि बढ्न सबैलाई सकारात्मक सोच राखी सत्विचार र सत्व्यवहारमा अग्रसर हुन पनि उहाँले शुभकामना व्यक्त गर्नुभएको छ ।

 

  • 78Read This News:
  • 458560Total reads:
  • 268131Total visitors: