एउटै टुना माछा रु ३४ करोड ७२ लाखमा बिक्री

जापान, २१ पुस २०७५ , जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको यो अहिलेसम्मकै सबैभन्दा बढी मुल्य हो । यो माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ ।

अघिल्लो वर्ष विश्व प्रसिद्ध चुकिजी माछा बजारमा सर्वाधिक बढी मूल्यमा टुना किनबेच भएको थियो ।

नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो । यो माछा दुई सय ७८ किलोको थियो । विश्वमै लोपोन्मुख प्रजातिको मानिने यो टुना माछा जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको थियो ।

“टुना किङ” को नामबाट आफूलाई चिनाउने जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गर्नुभएको थियो । यसअघि सन् २०१३ मा पनि कियोशीले नै टुनाको सबैभन्दा बढी मूल्य कबोल गरेको थियो ।

“यो सबैभन्दा उत्तम टुना हो । मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,” जापानमा सुसी रेष्टुराँका मालिक कियोशीले गर्वसाथ समाचारदाताहरुलाई बताउनुभयो ।

“पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,” उहाँले बताउनुभयो ।

चुकिजीमा बिहान उज्यालो हुनुअघि नै माछाको लिलाम बढाबढ हुने गर्दछ ।

 

  • 51Read This News:
  • 407365Total reads:
  • 220664Total visitors: