रु ७० लाखको लागतमा किल्ला काँटी उद्योग स्थापना

झापा, २० पुस २०७५ । झापाको कनकाई नगरपालिका–१ स्थित जामुनबारीमा जिल्लामै पहिलो काँटी उद्योग स्थापना भएको छ ।

कनकाई–२ का ३७ वर्षीय दीपक चापागाईंले रु ७० लाखको लागतमा ‘डायमण्ड स्टील उद्योग’ स्थापना काँटी उत्पादन शुरु गर्नुभएको हो । दक्षिण कोरियामा आधा दशक परिश्रम गरेर फर्किनुभएका झापाका चापागाईंले स्वदेशमै उद्योग फष्टाउने सम्भावना देखेर यो प्रयास गरिएकोे बताउनुभयो ।

“कोरियामा पाँच वर्ष काम गरेँ”, उहाँले भन्नुभयो, “त्यहाँ कमाएको रकमले स्वदेशमै आत्मनिर्भर बन्ने सोचका साथ उद्योग स्थापना गरेको हुँ ।” उक्त उद्योगबाट पहिलो चरणमा काँटी उत्पादन शुरु गरिएको छ । चालू आर्थिक वर्षभित्र नटबोल्ट, स्टील दराजलगायत छ प्रकारका सामग्री उत्पादन गर्ने उहाँको लक्ष्य छ ।

उद्योगमा हाल रु १४ लाखमा दुई वटा काँटी बनाउने उपकरण र रु चार लाखमा एउटा काँटी पोलिस गर्ने उपकरण राखिएको छ । उद्योगबाट दैनिक १५ सयदेखि दुई हजार केजीसम्म काँटी उत्पादन हुँदै आएको चापागाईंले बताउनुभयो । उद्योगबाट उत्पादित काँटी रु ९६ प्रतिकेजीमा बिक्री हुने गरेको छ । उत्पादित सामग्री मेची अञ्चलभरिका बजारमा बिक्री गरिने जनाइएको छ ।

चापागाईंले भन्नुभयो, “मैले कोरियाको पानीजहाज बनाउने कम्पनीमा फलामसम्बन्धी काम गरेँ, त्यहाँ सिकेको सीप अहिले स्वदेशमा प्रयोग गर्दैछु ।” उद्योग स्थापना गर्नुपूर्व भारतको कलकत्तामा कच्चा पदार्थ तथा समबन्धित उपकरणबारे जानकारी लिएको उहाँले बताउनुभयो ।

कोरिया छँदा आफूले मासिक रु तीन लाखसम्म कमाइ गर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “स्वदेश आएपछि पुनः एक पटक जाने सोच बनाएँ, भिसा पनि लाग्यो तर अब स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच आयो ।” मेहनत गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिने उहाँको भनाइ थियो । उद्योगमा हाल चार जनाले रोजगारीसमेत पाएका छन् ।

स्नातकसम्मको अध्ययन पूरा गर्नुभएका चापागाईंले वैदेशिक रोजगार पूँजी निर्माणका लागि गतिलो माध्यम बने पनि दीर्घकालीन विकल्प नभएकाले त्यहाँ कमाएको रकमले स्वदेशमा आत्मनिर्भर बन्नका लागि लगानी गर्न सकिन्छ ।”

उद्योगलाई विस्तार गर्ने योजनामा रहनुभएका चापागाईंले केही युवासँगको साझेदारीमा हर्पिक, फिनेललगायत अन्य रासायनिक पदार्थ उत्पादन गर्ने उद्देश्यले मेचीनगर–७ मा ५२ कट्ठा जग्गासमेत खरीद गरिसकेको बताउनुभयो ।

 

  • 33Read This News:
  • 407091Total reads:
  • 220401Total visitors: