बङ्लादेशमा डुङ्गा दुर्घटना मृत्यु हुनेको संख्या १८ पुग्यो

बङ्लादेश, ६ असोज २०७३ । बङ्लादेशको बरीसाल जिल्लाको सोन्धामा अवस्थित एक नदीमा बुधबार भएको डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेृ व्यक्तिको सङ्ख्या १८ पुगेको छ ।

बङ्गलादेशको राजधानी ढाकाबाट १६९ किलोमिटर दक्षिणमा रहेको बरीसाल जिल्लामा भएको यस दुर्घटनामा अन्य ८ जना अझै बेपत्ता रहेका छन् ।

सुरु दिइएको समाचारमा यात्रुहरूले खचाखच भरिएको डुङ्गा पल्टिँदा ३० जना बेपत्ता भएको जनाइएको थियो ।

स्थानीय समयानुसार बुधबार बिहान ११ः३० मा यस डुङ्गा दुर्घटनामा बिहीबार ४ बालबालिकाको शव भेटिएपछि सो सङ्ख्या १८ पगेको जिल्ला प्रहरी प्रमुख एसएम आक्तारुजामानले सिन्ह्वा समाचार समितिलाई बताउनुभएको छ ।

२ महिला, ६ बालबालिका र ८ पुरुषको शवलाई निकालिएको अधिकारीहरूले जानकारी दिएका छन् । बेपत्ता व्यक्तिको खोजीका लागि उद्धारकार्य जारी रहेको छ ।

सो डुङ्गामा क्षमताभन्दा बढी यात्रु रहेका हुनाले दुर्घटना भएको प्रहरीको भनाइ रहेको छ ।

बङ्लादेशमा बारम्बार यस्ता दुर्घटना भइरहेको पाइन्छ । क्षमताभन्दा बढी यात्रु बोकेर यात्रा गराउने कारणले गर्दा हरेक बर्ष सयौँको मृत्यु हुने गरेको छ ।

 

  • 67Read This News:
  • 458556Total reads:
  • 268127Total visitors: