पाकिस्तानी सत्ताधारी दलको नेतृत्व शहवाज शरीफले गर्ने

पाकिस्तान, १६ फागुन २०७४ । सर्वोच्च अदालतले पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई नेतृत्वमा रहन अयोग्य ठहर गरेपछि रिक्त रहेको सत्ताधारी दल पाकिस्तान मुश्लिम लिग–नवाज (पिएमएल–एन) को अन्तरिम अध्यक्षमा शहवाज शरीफलाई छानिएको छ ।

गत हप्ता यहाँको अदालतले शरीफ पिएमएल–एनको अध्यक्ष हुन अयोग्य रहेको निर्णय दिएको थियो ।

बिहीबार पिएमएल–एनको ‘ट्वीटर अकाउन्ट’मा बिहीबार एक विज्ञप्ति जारी गर्दै नवाज शरीफले नेतृत्वका लागि अन्तरिम अध्यक्षमा आफ्ना भाई शहवाज शरीफको नाम प्रस्ताव गर्नुभएको र उहाँको प्रस्तावलाई दलको लाहोरमा भएको केन्द्रीय समितिले एकमतले अनुमोदन गरेको जनाएको छ ।

दलको विधान अनुसार शहवाज शरीफलाई दलको स्थायी अध्यक्षमा निर्वाचित गर्न यही फागुन ६ गते पुनः केन्द्रीय समितिको बैठक बोलाइएको छ । उक्त बैठकमा गरिने निर्वाचन मार्फत दलको स्थायी अध्यक्षमा शहवाजको नाम अनुमोदन गरिने पिएमएल–एनले जनाएको छ ।

६६ बर्षीय शरीफ हाल पञ्जाव राज्यको मुख्यमन्त्री हुनुहुन्छ ।

दलले नवाज शरीफलाई दलको आजीवन नेताका रूपमा अनुमोदन गरेको छ । उहाँको दलमा कुनै पद भने लिनुहुने छैन ।

भ्रष्टाचार आरोप लागेका पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफलाई निर्वाचन ऐन २०१७ विपरीत दलको अध्यक्षमा रहेको जनाउँदै परेको निवेदनमाथि अन्तिम फैसला सुनाउँदै पाकिस्तानी सर्वोच्च अदालतले गत हप्ता उहाँ पिएमएल–एनको अध्यक्ष रहन अयोग्य ठहर गरेको थियो । यस अघि सोही आरोपमा उक्त अदालतले नै उहाँलाई प्रधानमन्त्री रहन अयोग्य घोषणा गरेको थियो ।

अदालतले संविधान बमोजिम अयोग्य ठहर भएको व्यक्तिले राजनीतिक दलको पनि कुनै पद लिनका लागि उपयुक्त नहुने ठहर गरेको थियो ।

 

  • 46Read This News:
  • 506793Total reads:
  • 310105Total visitors: