श्रीकृष्ण जन्माष्टमी हिन्दू धर्मावलम्बीहरूले भगवान् श्रीकृष्णको जन्मदिनको रूपमा मनाउने महत्वपूर्ण पर्व हो। यो पर्व विशेषगरी नेपाल र भारतमा श्रद्धा तथा भक्तिपूर्वक मनाइन्छ।
धार्मिक मान्यताअनुसार श्रीकृष्णको जन्म द्वापर युगमा मथुरामा, देवकी र वासुदेवका पुत्रका रूपमा भएको थियो। अत्याचारी राजा आफ्नै मामा कंसको अत्याचार अन्त्य गर्न र धर्मको रक्षा गर्न भगवान् विष्णुले कृष्णका रूपमा अवतार लिनुभएको मान्यताछ।
जन्माष्टमी भाद्र कृष्ण पक्षको अष्टमी तिथिमा मनाइन्छ। श्रीकृष्णको जन्म मध्यरातमा भएको मान्यताका कारण धेरै भक्तजनले मध्यरातसम्म पूजा तथा भजन–कीर्तन गर्छन्।
आज कृष्ण अष्टमीका दिन भगवान् कृष्णको मूर्ति वा बालकृष्णको पूजा गरिन्छ। व्रत तथा उपवास बस्ने चलन छ। मध्यरातमा कृष्ण जन्मोत्सव मनाइन्छ। भजन, कीर्तन र धार्मिक कार्यक्रम आयोजना गरिन्छ। कृष्णलाई मनपर्ने मानिएका माखन, दूध, दही, फलफूल तथा मिठाई प्रसादका रूपमा चढाइन्छ। नेपालमा पाटनको कृष्ण मन्दिर लगायत विभिन्न कृष्ण मन्दिरमा विशेष पूजा र भक्तजनको ठूलो भीड लाग्ने गर्छ।
आज अन्तिम दिनको रुपमा पनि गाइजात्रा मनाउने गरिन्छ । बिभिन्न हास्यब्यंग्य कार्याक्रम गाइजात्राको दिनदेखी शुरु भएर आज अन्त्य गरिन्छ ।
बिभिन्न क्षेत्रमा आज कृष्णलिला सम्बन्धि धार्मिक नाटकपनि मञ्चन गरिन्छ ।


