४ जिल्लामा पोलियो खोप कार्यक्रम सुरु भएन

विशेष पोलियो खोप कार्यक्रम अन्तरगत कपिलवस्तुमा बालबालिकालाई पोलियो खोप खुवाउँदै स्वास्थ्यकर्मी ।

काठमाडौँ, २१ फागुन २०७३ । स्वास्थ्यकर्मीको अवरोधका कारण आज र भोलि हुने ‘विशेष पोलियो खोप कार्यक्रम’ चार जिल्लामा सञ्चालन हुन सकेन ।

सुरु भएका अन्य जिल्लामा पनि सबै स्थानमा सहज रुपमा सञ्चालन हुन नसकेको बालस्वास्थ्य महाशाखाले जनाएको छ ।

स्वास्थ्यकर्मीले स्वास्थ्य संस्थामा ताला लगाई अवरोध गरेका कारण सिरहा, सप्तरी, महोत्तरी र कैलालीमा आज पोलियो खोप कार्यक्रम सञ्चालन हुन नसकेको हो ।

सरकारले तराईका कैलाली, बर्दिया, बाँके, कपिलवस्तु, पर्सा, बारा, रौतहट, धनुषा, महोत्तरी, सप्तरी, सिरहा र सुनसरी तथा काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा पोलियो खोप कार्यक्रम गर्ने तय गरेको थियो । ती जिल्लाका ५ वर्षमुनिका १६ लाख ९२ हजार ३१५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम छ ।

कपिलवस्तु, काठमाडौँ, ललितपुर र बर्दिया जिल्लामा भने सहजरुपमा कार्यक्रम भएको स्वास्थ्य मन्त्रालय बालस्वास्थ्य महाशाखाका खोप शाखाका कार्यक्रम अधिकृत वसन्त श्रेष्ठले जानकारी दिनुभयो । धनुषामा भने साँझ ५ बजेपछि मात्र खोप कार्यक्रम सञ्चालन भएको उहाँले बताउनुभयो ।

उहाँले कार्यक्रम सुरु नभएका र सुरु भएर पनि अवरोध भएका जिल्लामा २२ र २३ गतेसम्म बालबालिकालाई पोलियो खोप लगाउने विश्वास व्यक्त गर्नुभयो ।

पोलियो खुवाइने जिल्लामा केही स्वास्थ्यकर्मीले अवरोध गरेमा सुरक्षा व्यवस्था मिलाई सेवा सञ्चालन गराउन स्वास्थ्य मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गरेको भए पनि कार्यक्रम सुरु भएका केही जिल्लामा धेरै गाविसमा भने अवरोध कायम रहेको छ ।

धेरै जिल्लामा निकै ढिला गरी सुरु भएकाले आज कति बालबालिकालाई पोलियो खोप दिइयो भन्ने यकिन तथ्याङ्क नआएको अधिकृत श्रेष्ठले बताउनुभयो ।

 

  • 32Read This News:
  • 509164Total reads:
  • 312449Total visitors: